ताप्लेजुङका १८ हजार भन्दा बढी स्वास्थ्य बीमामा आबद्ध

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १५ । ताप्लेजुङमा स्वास्थ्य बीमा बोर्डको कार्यालय स्थापना भएयता १८ हजार भन्दा बढी सदस्य स्वास्थ्य बीमामा आबद्ध भएका छन् । यो २०८१ साल पुस १४ गते सम्मको तथ्याङ्क हो ।

ताप्लेजुङमा २०७७ सालमा स्वास्थ्य बीमा बोर्डको कार्यालय स्थापना भएको हो । स्वास्थ्य बीमा बोर्डका ताप्लेजुङ शाखा प्रमुख गंगा लुईँटेलका अनुसार यहाँका कूल १८ हजार ४ सय ३ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । लुईँटेलका अनुसार साधारणतर्फ १२ हजार ५ सय ७५ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । यसैगरी जेष्ठ नागरिकतर्फ ३ हजार १ सय ६३ जना,महिला स्वास्थ्य स्वयंसेविकातर्फ १ हजार ७ सय ७५ जना,अपाङ्गता भएका व्यक्तिगतर्फ ८ सय ७९ जना र एचआईभी संक्रमित भएका सदस्यतर्फ ११ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डको ताप्लेजुङ शाखा कार्यालयले जानकारी दिएको छ । लुईँटेलका अनुसार स्वास्थ्य बीमामा आबद्ध हुने जेष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति र एचआईभी संक्रमित भएका सदस्यका घरमा जतिसुकै परिवार सदस्य भएपनि बीमा शुल्क लाग्दैन ।

साधारणतर्फ ५ जना सदस्य भएका परिवारलाई ३ हजार ५ सय र सो भन्दा बढी सदस्य भएमा प्रत्येक सदस्यको थप ७ सय रुपैयाँका दरले बीमा शुल्क(प्रिमियम)लाग्ने छ । यस्तै महिला स्वास्थ्य स्वयंसेविकाको हकमा साधारणतर्फका परिवारका सदस्यले तिर्नुपर्ने बीमा शुल्कको आधा रकम लाग्ने लुईँटेलले जानकारी दिनुभयो । ५ जनासम्मको सदस्य रहेका साधारण परिवारले ३ हजार ५ सय रुपैयाँ योगदान रकम बुझाउँदा प्रति परिवार प्रति वर्ष रु १ लाख सम्मको सेवा प्राप्त गर्नेछ । ५ जना भन्दा बढी सदस्य रहेका साधरण परिवारको हकमा ३ हजार ५ सयका अतिरिक्त थप प्रति सदस्य ७ सय रुपैयाँका दरले योगदान रकम बुझाउनु पर्ने हुन्छ । उक्त परिवारलाई सरकारकातर्फ प्रति सदस्य थप २० हजार रुपैयाँका दरले स्वास्थ्य सेवा थप्दै प्रति वर्ष अनिकतम् २ लाख रुपैयाँ सम्मको सेवा प्रदान हुने व्यवस्था मिलाईएको छ ।

स्वास्थ्य बीमाका लागि प्रत्येक वडामा बीमा प्रतिनिधि तोकिएका छन् । उनीहरुलाई दर्ता सहयोगी भन्ने गरिएको छ । दर्ता सहयोगीमार्फत बीमामा आबद्ध हुने व्यक्ति वा परिवारको बीमा शुल्क सहित दरखास्त संकलन गरिन्छ । बीमा प्रतिनिधिहरुले स्वास्थ्य बीमामा आबद्ध भएका व्यक्तिहरुको फाराम जिल्लास्थित स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पेश गरेपछि त्यसको एकीकृत प्रतिबेदन तयार गर्ने र अभिलेख व्यवस्थापन गर्ने काम जिल्लास्थित बीमा बोर्डको कार्यालयले गर्ने गरेको छ ।

बिरामी भएको बेला उपचारमा हुन सक्ने ठूलो खर्च धान्न कठिन नहोस् भनेर पहिले नै योगदान रकममार्फत् जोखिम व्यवस्थापन गर्ने कार्यक्रम नै स्वास्थ्य बीमा कार्यक्रम हो । यसले स्वास्थ्य सेवा उपयोगका क्रममा अनियोजित रुपमा भइरहेको व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापन गर्न मद्दत गर्दछ । यसले गुणस्तरीय स्वास्थ्य सेवा उपभोगको माध्यम मिलाउँछ, जसबाट अप्रत्यासित स्वास्थ्य हानीको कारणले हुने आर्थिक जोखिमबाट बच्न सकिन्छ । स्वास्थ्य बीमा नाफामुलक र व्यावसायिक कार्यक्रम नभई सेवामुलक सामाजिक सुरक्षा कार्यक्रम हो । यो सरकारी अभियान हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts