ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्थाको सञ्चालन बचत ८६ लाख बढी,सञ्चालक समिति सर्वसम्मत चयन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १२ । ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०८०।८१ मा ८६ लाख बढी रकम सञ्चालन बचत गरेको छ ।
नयाँ नेतृत्व चयन तथा बार्षिक प्रगति प्रतिबेदन पारित गर्दै शुक्रवार सकिएको सहकारी संस्थाको २४ औं बार्षिक साधारणसभामा कोषाध्यक्ष खड्गबहादुर मोक्तानले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन अनुसार उक्त सहकारी संस्थाले आव २०८०।८१ मा ८६ लाख ३ हजार ९ सय ८७ रुपैयाँ सञ्चालन बचत गरेको हो । मोक्तानका अनुसार उक्त आवमा ७ करोड ७९ लाख २७ हजार ६ सय ९५ रुपैयाँ सञ्चालन आम्दानी भएकोमा ६ करोड ९३ लाख २३ हजार ७ सय ८ रुपैयाँ सञ्चालन खर्च भई बाँकी सञ्चालन बचत भएको हो ।
संस्थाका लेखा तथा सुपरीवेक्षण समिति संयोजक तारानाथ बरालका अनुसार लगानीमा जानुपर्ने करिव ४ करोड हाराहारी रकम बैंक मौज्दातमा सिमित भएपछि संस्थाको सञ्चालन बचत अघिल्लो आव भन्दा केहि कम भएको छ । आव २०७९।८० मा संस्थाको सञ्चालन बचत १ करोड १९ लाख रुपैयाँ हाराहारी रहेको थियो ।
साधारणसभाले चालू बर्षका लागि केहि दुरगामी महत्व राख्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा सहकारी संस्थाका अध्यक्ष टामन सिग्देलद्धारा प्रस्तावित कार्यक्रमलाई सभाले पारित गरेको हो । जस अनुसार ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्थाले आर्थिक स्थिति कमजोर भएका सदस्य बिरामी भई जिल्ला बाहिर लगि उपचार गर्नुपर्ने अवस्थामा एम्बुलेन्स भाडा वापत १० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउने भएको छ । तर यसका लागि एम्बुलेन्स उपभोगकर्ता शेयर सदस्यको आर्थिक स्थिति कमजोर भएको स्थानीय मुचुल्का तथा सम्वन्धित वडाको सिफारिस भने अनिवार्य चाहिने भएको छ । यस्तै कडा रोग लागि लामो समय सम्म उपचार गराउनुपर्ने अवस्था भएका सक्रिय शेयर सदस्यलाई २० हजार र निश्कृय शेयर सदस्यलाई १० हजार रुपैयाँ सम्म उपलब्ध गराउने निर्णय समेत सहकारी संस्थाले लिएको छ ।
अध्यक्ष सिग्देलका अनुसार बचत मात्र गर्ने शेयर सदस्य निश्कृय तथा नियमित कारोवार समेत गर्ने शेयर सदस्यलाई सकृय शेयर सदस्य भनी परिभाषित गरिएको छ । यस्तै संस्थाको कामको सिलसिलामा दुर्घटना भई मृत्यु भएका कर्मचारीका परिवारलाई क्रियाखर्च वापत १ लाख र घाइते भएमा उपचार खर्चवापत ३० हजार रुपैयाँ सम्म उपलब्ध गराउने सहकारी संस्थाको साधारणसभाले निर्णय लिएको छ । सहकारी संस्थामा अहिले ७ स्थायी र ३ जना करारका कर्मचारी रहेका छन् । संस्थाले सदस्य पहिचानका लागि संस्थाको लोगो अंकित धातुको ब्याच बितरण गर्ने भएको छ । संस्थाका करिव ३ हजार शेयर सदस्य रहेका छन् ।
यसैबिच सहकारी संस्थाको सातौं अधिबेशनले यसअघि अध्यक्ष रहनु भएका सिग्देलनै अध्यक्ष रहेको संस्थाको सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद श्रेष्ठका अनुसार समितिको उपाध्यक्षमा खगेन्द्रकुमार कार्की चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा खड्गबहादुर मोक्तान,गीतादेवी गुरुङ,तेजबहादुर खत्री भट्टराई,देउमाया ओझा,बलबहादुर ओख्राबु,मीनाकुमारी गुरुङ,युवराज बराल,राजेश प्याकुरेल र रामबहादुर लिम्बू चयन हुनु भएको छ ।
लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा तारानाथ बराल र सदस्यद्धयमा जीतेन लिम्बू र शर्मिला भण्डारी चयन हुनु भएको छ । अध्यक्ष र उपाध्यक्ष बाहेक सञ्चालक समितिका सदस्य भित्रबाट थप पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ । सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिमा अधिकाँस पुरानै अनुहार दोहोरिनु भएको छ । संस्था स्थापना भएयता अध्यक्ष रहनु भएका सिग्देल सातौं अधिबेशनबाट समेत अध्यक्षमा सर्वसम्मत हुनु भएको छ । ताप्लेजुङ बहुउद्देश्य ताप्लेजुङकै जेठो सहकारी संस्था हो ।