पारिवारिक बेमेलबाट उत्पन्न हुनसक्ने सम्भावित दुर्घटनामा सजग गराउन भट्टराईको ‘लुप्त परिणाम…..’नाटक सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ९ । बैदेशिक रोजगारीमा गएपछि दम्पत्तिमा देखिने आशंका र त्यसबाट हुनसक्ने सम्भावित पारिवारिक बेमेललाई चित्रण गरेर ताप्लेजुङका साहित्य सर्जक कमल भट्टराईले ‘लुप्त परिणाम…..’शीर्षकको एकाङ्की नाटक प्रकाशन गर्नु भएको छ ।

बाइस दृश्यमा विभाजित उक्त नाटकमा बैदेशिक रोजगारीमा गएको श्रीमान्लाई श्रीमतिका बिषयमा लगाईएका अनेकन् आरोप र त्यसबाट श्रीमानमा परेको मानसिक छापका कारण उत्पन्न परिणामलाई कथाबस्तुमार्फत नाटकको मुख्य बिषय बनाईएको छ । नाटकको मुख्य सार भनेको उक्त कथाका दम्पत्तिको रिस गर्नेहरुले बैदेशिक रोजगारीमा गएका श्रीमानलाई सुनाएका अचाहिँदा कुराबाट सृजित परिणाम,त्यसबाट निम्तिएका भयानक घटना र परिवारका सदस्यको बिचल्ली हुन् ।

श्रीमानलाई कान्छा र श्रीमतिलाई रिना नामाकरण गरेर शब्दहरु कोरिएको छ । नाटकमा कोरिएका शब्द अनुसार कान्छा बैदेशिक रोजगारीमा जान्छन् । राम्रो सम्वन्ध कायम रहेका बेला कान्छालाई कसैले श्रीमति रिनाको स्वभावमा अस्वभाविक परिवर्तन भएको बताउँदै परपुरुषसंग सम्वन्ध स्थापित गर्न उद्यत रहेको सम्म भन्न भ्याउँछन् । तर श्रीमानले सुरुमा श्रीमतिप्रति भरोसा राख्दै अरुले सुनाएका कुरामा खास ख्याल राख्दैनन् । बैदेशिक रोजगारीमा गएको केहि समयपछि कान्छा घर फर्कन्छन् । रिना र कान्छाकाबिचमा अलिअलि खटपट सुरु हुन्छ । कान्छाको मानसपटलमा अरु मानिसले सुनाईदिएका नचाहिँदा कुराहरु पनि खेल्छन् । खटपटले उग्र रुप लिन थालेपछि रिना घर छाडेर बाहिरिन्छिन् । कान्छाले रिनाको खोजी गर्न थाल्छन् । उनले एउटा घरमा कोहि पुरुष व्यक्तिसंग रिना बसिरहेको थाह पाउँछन् । कान्छाको रिसले सीमा नाघ्छ । कसको घर हो भनेर पत्तो समेत नपाई कान्छाले आफ्नी श्रीमतिसंग रहेका पुरुषलाई धारिलो हतियारबाट कर्तव्य गर्छन् । अनि श्रीमतिलाई घरभित्रै राखेर घरमा आगजानी गर्छन् । घर समेत श्रीमतिको जलेको शव मात्र देख्न सकिन्छ । अनि एक सुखद् परिवारको अन्त्य हुन्छ । छोराछोरीको बिचल्ली ।

भट्टराईको एकाङ्की नाटकको समिक्षा गर्नु भएका साहित्य सर्जक टंक भट्टराई कुरोको चुरो पत्ता नलगाई अरुले सुनाएका कुरामा भरमा परिवारमा देखिने यस्ता बेमेलले समाजमा यस्ता घटना फेरि दहोरियोस् भन्ने नाटकको मुख्य सन्देश रहेको बताउँनुहुन्छ । कान्छाले श्रीमति रिनाको व्यवहारलाई नजिकबाट नियालेर सत्य के हो भनी कानुनी उपचार खोजेको भए यस्ता हिंस्रक घटना नहुने सर्जक भट्टराईको विश्लेषण छ । बैदेशिक रोजगारीमा गएका श्रीमान्–श्रीमतिबिच नराम्रै सम्वन्ध मात्र रहन्छ भन्ने समाजमा कायम रहेको गलत भाष्य बिरुद्ध समेत नाटकप्रेरित भएको उहाँले समिक्षा गर्नु भएको छ । नाटकका प्रस्तोता भट्टराईले भने पारिवारिक बेमेल र अरुको कुरामा भर परेर श्रीमतिप्रति नकारात्मक दृष्टीकोण राख्नुको परिणाम एउटा सुन्दर परिवारको दुःखद् अन्त्य भएको बिषय सन्देशको रुपमा प्रवाह गरेको बताउनु भएको छ । यसबाट जहान बच्चामा हुने बिचल्लीलाई समेत प्रमुख सन्देशको रुपमा उजागर गरिएको उहाँले भन्नु भएको छ ।

नाटकका सर्जक भट्टराईले अब यो नाटकको कथाका पात्रहरुमाथि आर्कषित हुने कानुनी पक्षलाई उजागर गरेर नाटकको थप भाग प्रकाशित गर्ने योजना बनाउनु भएको छ । सबै सचेत र संयमित हुने हो भने आवेशप्रेरित यस्ता घटना हुनबाट समाजका सदस्यलाई जोगाउन सकिन्छ भन्ने सन्देश प्रवाहका लागि नाटकमा शब्द कोरिएको सर्जक भट्टराईले बताउनुभयो । समाजमा देखा पर्ने यस्ता घटना थप हुन नदिई पारिवारिक विग्रह रोक्न र पारिवारिक पुर्नमिलनतर्फ केन्द्रित हुन नाटकले सन्देश प्रवाह गरेको ताप्लेजुङका अर्का साहित्य सर्जक शान्तिराम नेपालको निश्कर्ष छ । सर्जक भट्टराईको यो दोस्रो कृति हो । उहाँले २०७८ सालमा ‘सम्पत्ति’कवतिा संग्रह प्रकाशन गरिसक्नु भएको छ । २०५८ सालमा पर्चा साहित्य प्रकाशनमा ल्याउनु भएका भट्टराई लामो समय देखि साहित्य सृजनाका अलवा शिक्षण र पत्रकारिता पेशामा समेत आबद्ध हुनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts