कोशी सरकारले निर्माण गर्ने ३८५ वटा सडकमार्गमा ताप्लेजुङका १८ वटा सडक सञ्जाल समावेश

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ८ । कोशी प्रदेश सरकारले भविष्यमा निर्माण गर्नेगरी सार्वजनिक गरेको सडकको सूचीमा ताप्लेजुङका १८ वटा सडक सञ्जाल समावेश भएका छन् ।

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ सय ८५ वटा सडकको सूची राजपत्रमा प्रकाशित गरेको छ । प्रादेशिक सहायक लोकमार्ग अन्तरगत ९६ वटा र प्रादेशिक मार्ग २ सय ८९ वटा सडक सञ्जाल सूचीमा छनौट गरिएको छ । प्रादेशिक सहायक लोकमार्गमा ताप्लेजुङको एउटा तथा प्रादेशिक मार्गमा १७ वटा सडक सञ्जाल समेटिएका छन् ।

प्रादेशिक सहायक लोकमार्गमा फुङलिङ–नाङखोल्याङ–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–थुम्बेदिन–खाम्दिने हुँदै मामाङ्खे जाने ७७.४२१ किलोमिटर लामो सडक सञ्जाललाई समेटिएको छ । यसलाई फुङलिङ–खाम्दिने प्रादेशिक सहायक लोकमार्ग भनिएको छ ।

प्रादेशिक मार्ग अन्तरगत २२.३५६ किलोमिटरको फुङलिङ–पाथीभरा सडक,२.७४२ किलोमिटरको फुङलिङ–बाँजोगरा सडक,४८.७८९ किलोमिटर लामो कार्कीगाउँ–पापुङ सडक र दोभान–तिरतिरे–सुरबिरे–साक्फारा हुँदै खार्ते जाने १९.०८५ किलोमिटरको दोभान–खुरुक्ला सडक समावेश गरिएको छ ।

प्रादेशिक मार्गमै ७.९४५ किमी लामो खहरे–थेचम्बु सडक,२७.९६३ किमी लामो दोभान–गुफापोखरी सडक,२१.९६५ किमी लामो हान्द्रुङ–तिदुङ सडक३३.७३८ किमी लामो सिबु–लेलेप सडक,३०.४० किमी लामो देउराली–तेल्लोक सडक,फुङलिङ देखि वनझोरङ सम्मको २४.४ किमी लामो सडक सञ्जाल पनि प्रादेशिक मार्गमा समेटिएको छ ।

प्रादेशिक मार्गमै ३३.३ किमी लामो सुकेटार–गढीडाँडा–फक्ताङलुङ गाउँपालिका सम्मको सडक,१५.७ किमी लामो पालुङ्वा चौक–तिनधारे–हाङदेवा–तमोर करिडोर सडक,७.९७ किमी लामो कामीडाँडा–महाकाली सिम्बेवा–तिरिङ्गे सडक र पाथीभरा याङ्वरक–डुम्रिसे हुँदै सिकैचा जाने ८.७८ किमी लामो सडक सञ्जाल पनि प्रादेशिक मार्गमा समेटिएका छन् ।

प्रादेशिक सहायक लोकमार्ग अन्तरगत ९६ वटा सडकको कूल लम्बाई ३ हजार १ सय ६३.५८ किमी र प्रादेशिक मार्ग अन्तरगत २८९ वटा प्रस्तावित सडकको लम्बाई ५ हजार ८ सय १५.५० किमी रहेको छ । (सांकेतिक तस्बिर मात्र)

अरुलाई पनि शेयर गरौ !

Similar Posts