|

अन्तरदेशीय सीमा सुरक्षा बैठकः सीमा अपराध नियन्त्रण सहितका बिषयमा महत्वपूर्ण सहमति

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २ । पूर्वी नेपालको उत्तरी सीमावर्ती क्षेत्रका अधिकारी र चीनको स्वसासित क्षेत्र तिब्बतका अधिकारीबीचको अन्तरदेशीय सीमा बैठकमा चिनिया पक्षले उत्तरी क्षेत्रको सडक संरचनामा सघाउने संकेत गरेको छ । उसले नेपाल सरकारकातर्फबाट औपचारिक प्रस्ताव आए ‘जीटुजी’अर्थात् दुबै देशका सरकारकातर्फबाट सहमति गरी प्रकृया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

चीनको स्वसासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकार र ताप्लेजुङ तथा संखुवासभाका अधिकारीबिच तिब्बतको रिउ बजारमा सम्पन्न सीमा सुरक्षा बैठकमा सीमा अपराध नियन्त्रण सहितका महत्वपूर्ण बिषयमा समझदारी भएको हो । ताप्लेजुङका अधिकारीको नेतृत्व गरी रिउ पुगेर फर्किनु भएका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले ताप्लेजुङको उत्तरी क्षेत्रको सडक संरचनामा सघाउन आफुहरुले गरेको प्रस्तावमा त्यहाँका अधिकारी सकारात्मक देखिएको बताउनुभयो ।‘त्यहाँका सुरक्षा अधिकारीकै जिम्मेवारीबाट हुने बिषयमा सहमति भई बाँकी बिषयमा उपल्लो निकाय सम्म कुरा गर्ने सहमति भएको छ’प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो ।

नेपाली पक्षकातर्फबाट राखिएको सडक संरचनामा सघाउने बिषयमा चिनिया पक्ष सकारात्मक रहेपनि त्यसका लागि ‘जीटुजी’कार्य पद्धतिको खाँचो चिनिया पक्षले औंल्याएको हो । यस्तै चिनियाँ बजारमा नेपाली याकहरुको सहज पहुँच स्थापितको बिषयमा चिनिया पक्षले मौजुदा कानुन परिमार्जन तथा शंसोधन गर्न आवश्यक पहल लिने प्रतिबद्धता जनाएको छ । प्रजिअ शर्माका अनुसार नेपाली पक्षले तिब्बततर्फ जाने पासप्राप्त व्यक्तिलाई सहज आवागनको व्यवस्थापन हुनुपर्नेतर्फ चिनियाँ पक्षको ध्यानाकर्षण गरेको छ । अन्तरदेशीय पास प्राप्त व्यक्तिको सहज आवागमन तथा सीमा क्षेत्रमा हुने चेकजाँचमा कडाईका लागि गरिएको प्रस्ताव चिनिया पक्षले स्वीकार गरेको प्रजिअ शर्माले बताउनुभयो । दुईदेशका अधिकारीबिच संयुक्त सीमाक्षेत्र अनुगमन,सीमा अपराध नियन्त्रण,वन वन्यजन्तु तथा जडिबुटीको चोरी निकासी नियन्त्रण र स्थानीय क्षेत्रको विपद् व्यवस्थापन सहितका बिषयमा सघाउने बारे महत्वपूर्ण बिषयमा समझदारी कायम भएको उहाँले जानकारी दिनुभयो ।

सीमा सुरक्षा बैठकमा दुईदेशका अधिकारीबिच कायम हुनुपर्ने भरपर्दो र विश्वसनीय सञ्चार सन्देशका लागि समेत दुबैपक्षले पहललिने समझदारी भएको छ । दुईदेशका अधिकारीबिच कायम भएका समझदारीको उचित कार्यान्वयन तथा दुबै पक्षले उपल्लो निकायसम्म थप पहल गर्नुपर्ने बिषयलाई आ–आफ्नो जिम्मेवारी अनुसार अघि बढाउने सहमति बनेको प्रजिअ शर्माले जानकारी दिनुभयो । बैठकमा चिनिया पक्षको नेतृत्व डिङ्जी काउन्टी पार्टी कमिटीका सेक्रेटरी तावो मिङजुनले गर्नु भएको थियो । ताप्लेजुङकातर्फबाट प्रजिअ शर्मा सहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख,फक्ताङलुङ गाउँपालिकाका जनप्रतिनिधि,कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका प्रतिनिधि समेत सीमा सुरक्षा बैठकमा सहभागी हुनुहुन्थ्यो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts