आफ्नो वंशभित्र मदिराजन्य पदार्थलाई निरुत्साहित गर्ने फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको घोषणा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १ । फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानले आफ्नो वंशभित्र मदिराजन्य पदार्थलाई निरुत्साहित गर्दै कूलतबिहिन वंश बनाउने संकल्प गरेको छ ।
दोस्रो अधिबेशनमार्फत १९ बुँदे संकल्पत्र जारी गर्दै प्रतिष्ठानले अहिंसा,न्याय,प्रेम समानतालाई मूलमन्त्र मान्ने उद्घोष समेत गरेको छ । प्रतिष्ठानका अध्यक्ष काजीमान पालुङ्वाद्धारा हस्ताक्षरित संकल्पपत्रमा फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानमा आबद्ध सदस्यका बालबच्चाहरुले मेहनेत गरेर पढ्ने,गरिमामय व्यत्तित्वको विकासमा उद्यत रहने र सामाजिक तथा साँस्कृतिक रुपमा स्वावलम्बी हुने गरी अभियान अघि बढाउने उल्लेख गरिएको छ । प्रतिष्ठानले फुरुम्बो पालुङ्वा वंशलाई सभ्य,चेतनशील र जुझारु बनाउने भनेको छ । छरिएर रहेका वंशको संस्कृतिलाई समेटेर केन्द्रीय साँस्कृतिक मञ्च निर्माण गर्ने,वंशभित्र फुट र गुट नभई एकता,तालमेलको सहकार्यको अवधारणमा केन्द्रित गर्ने संकल्प समेत प्रतिष्ठानले गरेको छ । वंशको अस्थित्व र इज्जत बिपरितका क्रियाकलापलाई उसले वंशभित्र अनावश्यक हस्तक्षेपको रुपमा लिने घोषणा गरेको छ । मुन्धुमी तथा धार्मिक स्थलहरुको संरक्षण र सम्वद्र्धनमा प्रतिवद्धता जनाउँदै प्रतिष्ठानले मुकुम्लुङ संरक्षणका लागि भइरहेका आन्दोलनमा ऐकवद्धता समेत जनाएको छ ।
प्रतिष्ठानले फुरुम्बो पालुङ्वा वंशको बिभिन्न स्थलमा रहेका समाधिस्थलको संरक्षण गर्दै संस्थागत गर्न पहल अघि बढाउने तथा ऐतिहासिक स्थलहरुको उत्खनन् तथा जीर्णोद्धार गर्ने भएको छ । वंशभित्रका गरि तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति दिन दाताको खोजी गरी अक्षयकोष बनाउने घोषणा समेत प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानको साधारण तथा आजीवन सदस्य बन्ने व्यक्तिलाई मात्र प्रतिष्ठानका हरेक सेवा सुविधा बितरण गर्ने समेत उसको घोषणा छ । यसका लागि उसले वंशभित्र‘एक घर,एक आजीन सदस्य’बनाउने अभियानको घोषणा समेत गरेको छ । वंशको समग्र आर्थिक विकास तथा समृद्धिमा योगदान पु¥याउन उसले सहकारी सञ्चालनको संकेत समेत गरेको छ । प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागि उसले जग्गा तथा भवन निर्माणका दाताहरुको खोजी गर्ने बताएको छ ।
२०७५ साल चैत १४ देखि १६ गते सम्म फुङलिङमा सम्पन्न प्रतिष्ठानको पहिलो अन्र्तराष्टिय सम्मेलन तथा केन्द्रीय अधिबेशनबाट पारित अवधारणालाई दोस्रो अधिबेशनबाट निर्वाचित कार्य समितिले आफ्नो मार्गदर्शनको रुपमा स्वीकारेर अघि बढ्ने घोषणा समेत प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानको पहिलो सम्मेलनले आफ्नो वंशभित्र जनसंख्या बृद्धि गर्ने सहितका अवधारणा अघि सारेको थियो ।