करिव ४ हजार बालबालिकाको मुटुको परीक्षण गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ३० । बालबालिकाको मुटुको भल्भमा हुने संक्रमणको पहिचान गर्न ताप्लेजुङको फुङलिङका करिव ४ हजार जना बालबालिकाको मुटुको परीक्षण गरिने भएको छ ।

नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठानमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो । नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ शाखाका सचिव कमलप्रसाद भट्टराईका अनुसार पुस १६ गते फुङलिङ नगरपालिकाका कम्तिमा तीनवटा केन्द्रमार्फत मुटुको परीक्षण कार्यक्रम सञ्चालन गरिने छ । बालबालिकाको मुटुको परीक्षण गर्ने,बालबालिकाको मुटुको इको(मुटुको भिडियो एक्स–रे)परीक्षण गरिने र निःशुल्क औषधि समेत बितरण गर्ने कार्य योजना तयार गरिएको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा बालबालिकाको मुटुको परीक्षण गरिने छ भने ३ सय ५० भन्दा बढीको मुटुको इको गरिने भएको छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थी र अन्य बालबालिकालाई अपेक्षित परीक्षणको सूचीमा राखिएको छ ।

मुटुरोगको पहिचान,रोकथाम र उपचारमा सहयोग पुग्ने हिसाबाट उक्त कार्यक्रम अघि बढाउन नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठान र फुङलिङ नगरपालिकाबिच समन्वयात्मक सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । प्रतिष्ठानकातर्फबाट कार्यक्रम निर्देशक डाक्टर प्रकाशराज रेग्मी र फुङलिङ नगरपालिकाकोतर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गर्नु भएको छ । कार्यक्रमका लागि ३ हजार १५० अमेरिकी डलर अर्थात् झण्डै ४ लाख १९ हजार ८ सय ९५ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो लागत नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठानमार्फत नै व्यवस्थापन हुन लागेको हो । विज्ञ,चिकित्सक र प्राविधिक गरी करिव २० जनाको टोली ताप्लेजुङ आउन लागेको समेत नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ शाखाले जनाएको छ । मुटुको इको गर्ने उपकरण समेत प्रतिष्ठानमार्फत ताप्लेजुङ ल्याईने भएको छ ।

मुटु रोगको परीक्षणका लागि इको,ईसीजी,एन्जियोग्राम,टीएमटी जस्ता परीक्षण विधि प्रयोग गरिन्छन् । ईसीजीमा नतिजा स्पष्ट नदेखिएको खण्डमा इलेक्टो कार्डियोग्राम गरिन्छ । यस परीक्षणमा मुटुको ध्वनि तरंगहरू हेरेर मुटुको कार्यसंरचना जाँच गर्न प्रयोग गरिन्छ । मुटु र मुटुको भल्बमार्फत रगतको प्रवाहको जानकारी यस परीक्षणबाट पाउन सकिन्छ । इको कार्डियोग्रामले मुटुको भल्बमा वा मुटुको पम्प गर्ने क्षमतामा कुनै खराबी छ कि छैन भनेर पहिचान गर्छ । जसबाट भल्बहरु सुन्निएको, साँघुरिएको र पम्पको अनियमितता भएको पत्ता लगाई यसको लागि आवश्यक उपचारको संकेत गर्छ । हृदयघातपछि देखिन सक्ने जटिलता पनि यसले देखाउँछ । नेपाल ह्रृदयरोग निवारण प्रतिष्ठानले संक्रमित बालबालिकाको उपचार गराउने,बाथ मुटुरोगबाट हुने मृत्यु दरलाई घटाउन सहयोग गर्ने,मुटु रोगीहरुलाई उपचारमा सहयोग गर्ने तथा स्वास्थ्यकर्मीलाई तालिम दिने जस्ता कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts