ताप्लेजुङमा पछिल्लो एकबर्षको अवधिमा भए ६२ वटा मानव अधिकारसंग सम्वधित घटना

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २६ । सन् २०२४ को जनवरी देखि एकबर्षको अवधिमा ताप्लेजुङमा ६२ वटा मानव अधिकारसंग सम्वन्धित घटना भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ताप्लेजुङले बुधवार ‘मानव अधिकार बर्ष पुस्तक २०२५’प्रकाशन पूर्व गरेको बार्षिक समिक्षा कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो । इन्सेक ताप्लेजुङका प्रतिनिधि एलिना दियालीका अनुसार ६२ मध्ये ४० वटा घटना महिलासंग,१२ वटा घटना बालबालिकासंग र १० वटा घटना पुरुषसंग सम्वन्धित रहेका छन् । महिला तथा बालिकालाई बलत्कार,बलत्कार प्रयास,घरेलु हिंसा र कुटपिटका घटना समेत उक्त अवधिमा भएको इन्सेकले जनााएको छ । इन्सेकले ताप्लेजुङ जिल्ला कारागारमा क्षमता भन्दा करिव ६ गुणा कैदीबन्दी राखिएको घटनालाई समेत मानव अधिकारको सवालबाट चित्रण गरेको छ । कारागार भित्र त्यसको क्षमता अनुसार कैदीबन्दी राखी आधारभूत मानव अधिकारको व्यवस्थापन गर्न इन्सेकले सरकारको ध्यानाकर्षण समेत गरेको छ ।
इन्सेकले बाल सुधार गृह नहुँदा बाल बिज्याँईमा परेका बालकलाई जिल्ला बाहिर पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न समेत सरोकारवालाको ध्यानाकर्षण गरेको छ । हिंसामा परेका महिला तथा बालिकाका लागि पुर्नस्थापना केन्द्र नहुनुको पींडा समेत इन्सेकले आफ्नो प्रतिबेदनमार्फत औंल्याएको छ । इन्सेकले पाथीभरा केवलकार निर्माणको पक्ष र बिपक्षमा हुने गरेका बिभाजन,झडप तथा असन्तुष्टी समेतमा चासो राखेको छ । केवलकारका बिषयमा समन्वयकारी भूमिका निर्वाह गर्न उसले केवलकार निर्माण पक्षधर र केवलकार निर्माणको बिरोधमा रहेका दुबै पक्षलाई आग्रह समेत गरेको छ ।
बाढी,पहिरो,आगलागी जस्ता प्राकृतिक विपद्का कारण सृजना हुन सक्ने समस्याप्रति पनि बेलैमा सम्बेदनशिल रहन समेत इन्सकेले सम्वन्धित सबै सरोकारवाला पक्षको ध्यान केन्द्रित गरेको जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेल,जिल्ला न्यायधिबक्ता महेश खत्री,जिल्ला प्रहरी प्रमुख रवि रावल,सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश मर्हजन सहित राजनीतिक दलका प्रतिनिधि,नागरिक समाजका अगुवा एवम् सञ्चारकर्मीहरुले मानव अधिकारको बिद्यमान अवस्था र मानव अधिकार उल्लंघनका घटना रोक्न चाल्नुपर्ने कदम बारे प्रष्ट्याउनु भएको थियो ।