स्वावलम्वन लघुवित्तद्धारा बालमन्दिर आविका १०२ बिद्यार्थीलाई न्यानो कपडा बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २० । स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडले ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित बाल मन्दिर आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ ।
सो विद्यालयमा शारीरिक अक्षमता भएका तथा सुस्त श्रवण बालबालिका समेत अध्ययन गर्ने गर्छन् । बिद्यालयमा अध्ययतरत १ सय २ जना बिद्यार्थीहरुलाई न्यानो कपडा अन्र्तगत एक–एकथान ज्याकेट प्राप्त भएको बिद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय सञ्चालक समितिका सदस्य डाक्टर सुमित्रा मानन्धरले संस्थाले आर्जन गरेको मुनाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व खर्चिने योजना अनुरुप ताप्लेजुङमा उक्त रकम बराबरको रकमबाट उक्त न्यानो कपडा प्रदान भएको जानकारी दिनुभयो ।
न्यानो कपडा बितरण कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन, वडाका वडाध्यक्ष,स्वावलम्वनका सञ्चालक समिति सदस्य मानन्धर,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण पौडेल,प्रधानाध्यापक पौडेल र स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक चन्द्र कोईराला सहितको उपस्थिति रहेको थियो ।
तस्बिर सौजन्य,पत्रकार कृष्ण फुरुम्बो