ताप्लेजुङको दोभानमा दुईदिने आँखा शिविर सुरु,१४० भन्दा बढीको आँखाको शल्यकृया गर्ने लक्ष्य

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २० । ताप्लेजुङको दोभान बजारमा बिहीबारबाट दुईदिने शल्यकृया सहितको आँखा शिविर सुरु भएको छ ।
नेपाल नेत्रज्योति संघको समन्वय तथा कोशी प्रदेश सरकारद्धारा नवनिर्मित भवनको शुभारम्भ तथा दोभान आँखा उपचार केन्द्र तथा त्यही केन्द्रमा स्थापित दोभान स्वास्थ्य ईकाई सहित आँखा शिविर बिहीबारबाट सुरु भएको हो । मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले भवन र आँखा शिविर शुभारम्भ गर्नुभयो भने पालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङले स्वास्थ्य ईकाई शुभारम्भ भएको घोषणा गर्नुभयो ।
मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक साझेदारीमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले विगत ३ बर्षदेखि दोभानमा आँखा उपचार केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ । सुरुमा भाडाको घरबाट सेवा सुरु गरेको दोभान आँखा उपचार केन्द्रको अब आफ्नै भवन भएको छ । यही भवनबाट आँखा र दोभान स्वास्थ्य ईकाईको सेवा आरम्भ भएको मेरिङदेन गाउँपालिका स्वास्थ्य शाखा संयोजक उदयकुमार यादवले जानकारी दिनुभयो ।
आँखा शिविरमा बिराटनगर आँखा अस्पतालका डाक्टर पृथा भट्ट नेतृत्वको टोलीले शल्यकृया सहितको सेवा प्रदान गर्ने भएको छ । सो सेवाका लागि बिराटनगर आँखा अस्पताल,रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटा,नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र र दोभान आँखा उपचार केन्द्रका प्राविधिकहरु खटिनु भएको छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आइवर्कर काजीमान थेबेका अनुसार बिहीबार अपरान्ह सम्ममा शल्यकृया गर्नुपर्ने ४२ जना आँखाका रोगी सम्पर्कमा आएका छन् । शिविरकै क्रममा आँखाका रोगीहरुको परीक्षण तथा उपचार समेत गरिने र शल्यकृया गर्नुपर्ने बिरामी छनौट समेत गरिने प्राविधिक क्षेत्रमा खटिएका पाथीभरा आइ केयर सेन्टर धरानका क्लिनिक इञ्चार्ज डोनराज गुरुङले जानकारी दिनुभयो ।
ताप्लेजुङको मेरिङदेन,आठराई त्रिबेणी,मैवाखोला र मिक्वाखोला गाउँपालिका तथा फुङलिङ नगरपालिकाको दोभान आसपासका क्षेत्रबाट समेत बिरामी उपचारका लागि आएका दोभान आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज सृजना चौधरीले जानकारी दिनुभयो । मेरिङदेन गाउँपालिका र मैवाखोला गाउँपालिकामा यसअघि बिभिन्न संस्थाको प्राविधिक सहयोगमा नै शल्यकृया गर्नुपर्ने आँखाका रोगीहरुको पहिचान गरिएको छ । मेरिङदेनबाट ९६ जना र मैवाखोलाबाट ५२ जना शल्यकृया गर्नुपर्ने आँखाको रोगीको पहिचान गरिएकोले दोभानमै ल्याएर शल्यकृया गर्ने तयारी गरिएको नेत्रज्योति संघले जनाएको छ ।
शिविर शुभारम्भ संगै दोभान आँखा उपचार केन्द्रका लागि निःशुल्क जग्गा दान गर्ने मेरिङदेन गाउँपालिका निवासी होमप्रसाद काफ्ले,हरि काफ्ले,गुरुप्रसाद पौडेल र मणि सामेखाम लिम्बूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । शल्यकृया गर्नुपर्ने सबै आँखाका रोगीहरुको शल्यकृया सक्ने र परीक्षण तथा उपचारमा आएका सबैको उपचार हुनेगरीको प्रवन्ध गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले बताउनुभयो ।
शिविरमा औषधि,चश्मा तथा शल्यकृया गरिएका बिरामीलाई खाना समेतको निःशुल्क प्रवन्ध गरिएको दोभान शिविर सहयोग समितिका संयोजक हरि काफ्लेले जानकारी दिए । शिविरका लागि सेवा फाउण्डेसन काठमाडौं सहयोगी निकाय रहने छ भने ताप्लेजुङ उद्योग वाणिज्य संघ शाखा दोभान र नेपाल रेडक्रस सोसाईटी दोभान उपशाखा सहयोगी निकायको रुपमा रहने छन् ।