ताप्लेजुङको साँवा थलङमा खुल्ला पुरुष फुटबल,अन्तर वडास्तरीय भलिबलका साथ पुरुष दौड प्रतियोगिता हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १८ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित थलङमा यही मंसिर ३० गते देखि खुल्ला पुरुष फुटबल,अन्तर वडास्तरीय भलिबलका साथ पुरुष दौड प्रतियोगिता हुने भएको छ ।
आयोजक थलङ स्पोर्टिङ क्लवले मंगलवार पत्रकार सम्मेलनमार्फत उक्त प्रतियोगिता आयोजनाका बारेमा जानकारी दिएको हो । चासोक तङ्नाम(न्वागी खाने पर्व)को अवसर पारेर आयोजना हुने खुल्ला स्तरीय पुरुष नकाउट प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेता हुने टिमले नगद ६१ हजार रुपैयाँ पाउने छ । बेष्ट गोलकिपर,बेष्ट डिफेण्डर,बेष्ट मिडफिल्डर,हाइस्कोरर,सर्बोत्कृष्ट खेलाडी र सर्बोत्कृष्ट प्रशिक्षकलाई ट्रफी प्रदान गरिने भएको छ ।
आयोजक थलङ स्पोर्टिङ क्लवका अध्यक्ष मणिकुमार थलङ लिम्बूका अनुसार अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताका विजेताल नगद ५० हजार र उपविजेताले नगद ३० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबलतर्फ बेष्ट स्पाईकर,बेष्ट लिफ्टर,बेष्ट लिब्रो र अलराउण्डरलाई ट्रफी प्रदान गरिने भएको छ । यस्तै खुल्ला पुरुष दौड प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमशः१० हजार,७ हजार र ५ रुपैयाँ पुरस्कार दिईने भएको छ ।
मिक्वाखोला गाउँपालिका मुख्य प्रायोजक रहेको कार्यक्रम पुस ५ गते सम्म सञ्चालन हुने थलङ स्पोर्टिङ क्लवका सचिव पूर्ण थलङले जानकारी दिनुभयो । खेलकुदका माध्यमबाट मिक्वाखोला गाउँपालिकाको पर्यटन क्षेत्रको संरक्षण,प्रवद्र्धन तथा प्रचारप्रसारका लागि योगदान दिने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका उपाध्यक्ष अमर थलङले जानकारी दिनुभयो ।
नेपालकै चर्चित फुङ्फुङ्गे झरना,मानाभरा डाँडा,मानाभरा देवी,वाग्बा पोखरी,ओत्रक्मा पोखरी,साँवा बंशहरुको माङ्गेनायक,युमा साम्यो चोत्लुङ पार्क,सिकिम्लुङ किराँत हाङसाम माङहिम तथा दर्जनौं गुम्बा तथा धार्मिक संस्कार र संस्कृतिको जर्गेनामा ध्यान दिन कार्यक्रम गर्न लागिएको क्लवका सल्लाहकार बिके थलङले जानकारी दिनुभयो ।
मध्य मेवा डेभलपर्स प्रालि प्रायोजक रहेको उक्त कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने भएका छन् । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले मिक्वाखोला पर्यटन र खेलकुदको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले यसको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि यस्ता कार्यक्रम लाभदायक हुने विश्वास लिनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावोले खेलकुद प्रतियोगिताले मानिसको सर्वाङ्गिण विकासमा महत्वपूर्ण टेवा पुग्ने तथा पर्यटन प्रवद्र्धनका लागि समेत भूमिका खेल्ने भएकोले खेलकुद क्षेत्रको विकासमा पछिल्लो समय निकै ठूलो महत्व र लगानी सृजना हुँदै आएकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।
क्लवका सल्लाहकार थलङले मिक्वाखोला गाउँपालिका पर्यटन र खेलकुद क्षेत्रमा उपयुक्त सम्भावनाको क्षेत्र भएकोले यो क्षेत्रको थप उन्नतीमा योगदान दिन प्रतियोगिता ओजना गरिएको बताउनुभयो । गत मंसिर ७ गते देखि मिक्वाखोलाकै साँवास्थित तेम्बामा वडास्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताका साथ अध्यक्ष कप तथा फुङ्फुङ्गे पर्यटन महोत्सव मनाईएको थियो । थलङ स्पोर्टिङ क्लव २०८० सालमा स्थापना भएको हो ।