गोधुली धरान बन्यो कञ्चनजंघा गोल्डकपमा सेमीफाइनल पुग्ने तेस्रो टोली
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १७ । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा सुनसरी धरानको गोधुली फुटबल क्लवले सेमीफाईनलमा स्थान बनाएको छ । यो संगै उसले पहिलो सेमीफाईनलमा सम्दु फुटबल क्लव तेह्रथुमसंगको भेट पक्का गरेको छ ।
सोमवार भएको तेस्रो क्वाटर फाइनल खेलमा गोधुली भानुजन मावि अम्बिटारको खेल मैदानमा पाहुना टोली भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लवलाई २–० ले पराजित गरी सेमीफाईनल पुगेको हो । गोधुलीका लागि दोर्जे तामाङले पहिलो गोल गर्नुभयो । उहाँले मध्यान्तर अघि गोल गर्नु भएको थियो । मध्यान्तर पछि गोधुलीका लागि मिलन राईले गोल गर्दै आफ्नो टिमको अग्रता दोब्बर बनाउनुभयो । पिटर र कार्लोस सहित बिदेशी खेलाडीप्रेरित गोधुलीका लागि दोर्जे र मिलनले गरेको गोलनै गोधुलीलाई जिताउन पर्याप्त भयो । दोर्जे गत भदौ ३ देखि १० सम्म यहीं खेल मैदानमा भएको दोस्रो ताप्लेजुङ गोल्डकपका सर्वाधिक गोलकर्ता समेत हुनुहुन्छ । खेलको समय सकिन ४ मिनेट बाँकी रहँदा भएको घम्साघम्सीका क्रममा गोधुलीका मिलन राई र कञ्चनजंघाका प्रज्वल केसीले रातो कार्ड खाँदा दुबै टिम १० खेलाडीमा सिमित भएका थिए ।
गोधुलीका लागि पिटरको दरिलो रक्षा र खेललय गुमाएको कञ्चनजंघा खेलमा फर्कन नसक्दा कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको एकमात्र अन्तराष्ट्रिय टिम पहिलो खेलबाटै बाहिरिएको छ । दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता सम्दु फुटबल क्लव तेह्रथुम र रेड डेभिल्स फुटबल क्लव इलाम क्रमशःपहिलो र दोस्रो क्वाटर फाईनल खेल जित्दै सेमीफाईनल पुगिसकेका छन् ।
मंगलवार न्यू स्टार क्लव बिर्तामोड झापाले पाँचथरको फिदिम स्पोर्टिङ क्लवसंग पहिलो चरणको अन्तिम खेल खेल्दै सेमीफाइनल समीकरण पूरा गर्ने छ । यि दुई टिमबिचको बिजेताले दोस्रो सेमीफाइनलमा रेड डेभिल्स फुटबल क्लव इलामको सामना गर्नुपर्ने हुन्छ । प्रतियोगिताका बिजेताले तीन लाख दुईहजार ८१ रुपैयाँ तथा उपबिजेताले एकलाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन् ।