दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय गोल्डकप:आयोजकलाई हराउँदै तेह्रथुमको सम्दु फुटबल क्लवको बिजयी सुरुआत

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १५ । शनिवारबाट ताप्लेजुङमा सुरु भएको दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा तेह्रथुमको सम्दु फुटबल क्लवले बिजयी सुरुआत गरेको छ ।

टाईब्रेकरमा आयोजक कञ्चनजंघा फुङलिङ क्लवलाई पाखा लगाउँदै सम्दु फुटबल क्लवले पहिलो चरण पार गरेको हो । खेलको अग्रता भने आयोजक कञ्चनजंघा फुङलिङ क्लवले लिएको थियो । अनुप सेन्दाङको गोलबाट अग्रता लिएको आयोजकको टिम गोलखुसीसंगै खेलमा थोरै सुस्ताएको मौका छोप्दै सम्दु फुटबल क्लव तेह्रथुमका सन्दीप लिम्बूले बराबरी गोल गोल गर्नुभयो । सन्दीपको बराबरी गोल लगत्तै दबाबमा परेको आयोजक टीमले खेलको गति लियो । आयोजकका पवन लिम्बूले टिमका लागि दोस्रो गोल गर्दै खेललाई २–१ को अग्रतामा पु¥याउनुभयो । तर आयोजकको त्यो अग्रता लामो समय सम्म टिक्न सकेन । सम्दुका सन्दीपले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि इञ्जुरी समय थप नगरी खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो । टाईब्रेकरमा आयोजकका अघि सम्दु भाग्यमानी दरियो ।

टिमलाई जीताउन महत्वपूर्ण भूमिका खेलेका सम्दुका सन्दीप शनिवारको खेलको म्यान अफ द म्याच बन्नुभयो । दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा आइतवार डाँगीहाट फुटबल क्लव बेलवारी,मोरङले इलामको रेड डेभिल्स फुटबल क्लवसंग प्रतिश्पर्धा गर्ने छ । यसअघि कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले गोल्डकपको उद्घाटन गर्नु भएको थियो । उहाँले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने महान अभियानमा सफलता प्राप्त हुने विश्वास लिनु भएको छ । उहाँले च्याब्रुङ बाजा बजाएर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

आयोजक चासोक तङनाम सञ्चालक समितिका अध्यक्ष चन्द्र थेबेले चासोक तङनाम पर्वको अवसरमा प्रतियोगिता आयोजना गरिएकोले च्याब्रुङ बाजा बजाएर गोल्डकपको उद्घाटन गरिएको बताउनुभयो । च्याब्रुङ लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो । मादल जस्तै ठूलो काठको ढुङ्ग्रोमा दुबैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिदैँन ।कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो । प्रतियोगिताका बिजेताले तीन लाख दुईहजार ८१ रुपैयाँ तथा उपबिजेताले एकलाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन् ।

 

Similar Posts