कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप तथा साँस्कृतिक कार्यक्रमको टिकटदर तोकियो,तयारी पूरा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १३ । मंसिर १५ गते देखि २२ गते सम्म ताप्लेजुङको फुङलिङमा हुने दोस्रो कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप तथा साँस्कृतिक कार्यक्रमको टिकट दर तोकिएको छ ।

चासोक तङनाम सञ्चालन समितिका कोषाध्यक्ष कुलदीप मादेनका अनुसार सेमीफाइनल सम्मका सबै खेलहरुको टिकटदर जनही १ सय रुपैयाँ निर्धारण गरिएको छ । फाइनल खेल र साँस्कृतिक कार्यक्रमको टिकट दर भने जनही २ सय रुपैयाँ तोकिएको मादेनले जानकारी दिनुभयो । मंसिर २१ गते शुक्रवारका दिन कार्यक्रमस्थल भानुजन मावि अम्बिटारको खेल मैदानमा बृहत्त साँस्कृतिक कार्यक्रम राखिएको छ । उक्त दिन गोल्डकप कार्यक्रम नहुने भएकोले साँस्कृतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम राखिएको मादेनले जानकारी दिनुभयो । साँस्कृतिक कार्यक्रमका लागि गायिका शान्तिश्री परियार,झूमा लिम्बू र माल्भिका सुब्बा सहभागी हुनेछन् भने रैथाने ब्याण्डको प्रस्तुति रहने भएको छ ।

गोल्डकपका लागि भानुजन माविको खेलमैदानमा प्याराफिट तयार भएको छ । लाखेजात्राको अवसरमा गत भदौ ३ देखि १० गते सम्म सञ्चालित ताप्लेजुङ गोल्डकपका बेला तयार भएको प्याराफिट कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा समेत प्रयोग हुने छ । आयोजक चासोक तङनाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले कञ्चनजंघा(सेसेलुङ)अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप तथा साँस्कृतिक कार्यक्रमको सबै तयारी लगभग पूरा भएको जानकारी दिनुभयो । गोल्डकपको खेल तालिका यसअघि नै सार्वजनिक भइसकेको छ ।

कञ्चनजंघा(सेसेलुङ)गोल्डकपको उद्घाटन खेलमा १५ गते आयोजककोतर्फबाट कञ्चनजंघा फुङलिङ क्लवले तेह्रथुमको सम्दु फुटबल क्लवसंग प्रतिश्पर्धा गर्ने छ । १६ गते डाँगीहाट फुटबल क्लव मोरङले इलामको रेड डेभिल्स फुटबल क्लवसंग प्रतिश्पर्धा गर्ने छ । १७ गते गोधुली फुटबल क्लव धरान सुनसरीको भिडन्त भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लवसंग हुने छ । पहिलो चरणको अन्तिम खेलमा न्यू स्टार क्लव बिर्तामोड झापाले मंसिर १८ गते पाँचथरको फिदिम स्पोर्टिङ क्लवसंग प्रतिश्पर्धा गर्ने छ । प्रतियोगिताका बिजेताले तीन लाख दुईहजार ८१ रुपैयाँ तथा उपबिजेताले एकलाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन् ।

 

 

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts