सिकैचा उपनिर्वाचन:मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १२ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि कायम भएका दुई मतदान केन्द्रहरुमा मतदान अधिकृत नियुक्त गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरी अनुशिक्षण गर्न थालिएको छ । उहाँका अनुसार सरस्वती मावि कुञ्जारी मतदान केन्द्रमा सिरिजङ्गा गाउँपालिकाका प्राविधिक(छैटौं)योगेन्द्र पौडेल निर्वाचन अधिकृत तथा सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका वडासचिव तायाहाङ राई सहायक निर्वाचन अधिकृत तोकिनु भएको छ ।
कुञ्जारी मतदान केन्द्रमा १ हजार २६ मतदाता रहेका छन् । यस्तै दुर्गा मावि ओसे मतदान केन्द्रमा ताप्लेजुङ जिल्ला अदालतका नायव सुब्बा रमेश तामाङ निर्वाचन अधिकृत तोकिनु भएको छ । त्यहाँका लागि ताप्लेजुङ जिल्ला अदालतकै कर्मचारी रोनिश भण्डारी सहायक मतदान अधिकृत नियुक्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । ओसे मतदान स्थलमा ५ सय २ जना मतदाता रहेका छन् । यस्तै सिरिजङ्गा गाउँपालिका सहायक पाँचौं सरिता राई मतदान अधिकृत र सोहि कार्यालयका सहायक चौथो(प्राविधिक)चन्द्रकुमार मावो लिम्बूलाई सहायक मतदान अधिकृतको रुपमा जगेडामा राखिने छ ।
मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीस विकास श्रेष्ठले मतदान केन्द्रमा खटिने एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत गरी दुईवटा मतदान केन्द्रका ४ जना तथा जगेडामा राखिने थप दुई मतदान अधिकृत सहित गरी ६ जनालाई तालिम दिईएको जानकारी दिनुभयो । निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज(विपिन) दुलालका अनुसार प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत,एकजना सहायक मतदान अधिकृत,२ जना सहायक कर्मचारी,एकजना सहयोगी कर्मचारी र एकजना महिला स्वयंसेवक गरी कूल ६ जना कर्मचारी परिचालित हुने छन् ।