यस्तो छ अन्तराष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्डकपको खेल तालिका

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ८ । मंसिर २३ गते देखि २९ गते सम्म ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकमा हुने अन्तराष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।
मंसिर २३ गते आयोजक तेल्लोक स्पोर्टिङ क्लवले साँगुरिगढी फुटबल क्लव धनकुटासंग उद्घाटन खेल खेल्ने छ । तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईका अनुसार गोल्डकपको दोस्रो खेलमा २४ गते न्यू स्टार क्लव झापा र ब्रदरहुड फुटबल क्लव बेलका उदयपुर आमने–सामने हुँदैछन् ।
मरिक फुटबल क्लव सुनसरीले भारतको पारिजात संघ फुटबल क्लवसंग तेस्रो खेलमा २५ भिडन्त गर्ने छ । मंसिर २६ गते वाईवाई पाँचथर फुटबल क्लवले सिरिजङ्गा स्पोर्टिङ क्लव मोरङसंग भिडन्त गर्दै पहिलो चरणमा खेल समाप्त गर्ने छ । २७ गते पहिलो र २८ गते दोस्रो सेमीफाइनल खेल हुने छ । २९ गते फाइनल खेल हुने आयोजक तेल्लोक स्पोर्टिङ क्लवले जनाएको छ ।
अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कपको चौथो संस्करणको विजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र तथा उपविजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्
। गोल्ड कपमा विधागत पुरस्कार समेतको प्रबन्ध गरिएको तेल्लोक स्पोर्टिङ क्लबका सहसचिव सुमन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विधागत पुरस्कारतर्फ प्रत्येक खेलमा उत्कृष्ट खेल खेल्ने एक जनालाई नगद २ हजार १ सय रुपैयाँका साथ ‘म्यान अफ द म्याच’ प्रदान गरिने छ। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ४–४ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ ।
सहभागी टिममध्ये सबैभन्दा अनुशासित र मर्यादित खेल खेल्ने एक टिम तथा उत्कृष्ट व्यवस्थापक र उत्कृष्ट प्रशिक्षकलाई समेत समापनको दिन सम्मान गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । क्लबका अध्यक्ष भट्टराईका अनुसार २०७८ सालबाट आमन्त्रण सरिजङ्गा गोल्ड कप हुँदै आएको थियो । चौथो संस्करण मानिएको यस पटकको प्रतियोगिताबाट अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।