ताप्लेजुङमा झण्डै ७२ हजारले गराए राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ६ । ताप्लेजुङमा झण्डै ७२ हजार जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी सन्दीपा खड्काका अनुसार अहिले सम्म ७१ हजार ८ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराएका छन् । चालू आर्थिक बर्ष २०८१।८२ को कात्तिक मसान्त सम्ममा २ हजार २ सय ६१ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको खड्काले जानकारी दिनुभयो । कात्तिक महिनामा ४ सय ६८ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका थिए । आव २०८०।८१ सम्ममा ६९ हजार ५ सय ९८ जनाले विवरण दर्ता गरेका थिए । राष्ट्रिय परिचयपत्रको कार्ड भने १ हजार ४ सय ३५ जनालाई बितरण गरिएको छ । चालू आवमा ५ सय ५ जनालाई र आव २०८०।८१ मा ९ सय ३० जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड बितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयले कात्तिक महिनामा २ सय ९२ जना सेवाग्राहीको राहदानी अनलाइन फारम कार्यालयबाटै निःशुल्क भरिदिएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको कार्यअवधिमा जिल्ला प्रशासन कार्यालयले कार्यालय परिसर भित्रैबाट सेवाग्राहीका राहदानी अनलाइन फारम निःशुल्क भरिदिने प्रवन्ध सुरु भएको हो । यो कार्यले निरन्तरता पाइरहेको छ । यस्तै कात्तिक महिनामा २ सय ४५ जना सेवाग्राहीलाई निबेदन तथा आवश्यक कागजातको प्रतिलिपि निःशुल्क प्रदान गरिएको समेत प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन समितिको कोषबाट विपद् पीडितलाई चालू आवको कात्तिक मसान्त सम्ममा १३ लाख ७० हजार रुपैयाँ बितरण गरेको छ ।

 

 

Similar Posts