मंसिर ९ गते सुपर काबेली खोला ‘ए’जलविद्युत आयोजनाले विद्युत प्रवाह गरी लाइनको परीक्षण गर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ६ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ निर्माण गरिएको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’जलविद्युत आयोजनाले मंसिर ९ गते विद्युत प्रवाह गरी लाइनको परीक्षण गर्ने भएको छ ।
स्नो रिर्भस लिमिटेड मुख्य प्रवद्र्धक रहेको आयोजना निर्माण प्रारम्भ भएको देखिछोटो अवधिमै उसले निर्माण कार्य पूरा गरी विद्युतको परीक्षण गर्न लागेको हो । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार आयोजनाको विद्युतगृह रहेको स्थान देखि पाँचथर अमरपुरस्थित दुवीचौरमा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभिए बिद्युत प्रसारण लाइनमा विद्युत प्रवाह गरी लाइनको परीक्षण गरिने छ । परीक्षणका क्रममा मंसिर ७ गते बिहान ७ः३० बजेदेखि सिरिजङ्गा गाउँपालिका वडा नं ८ को सामेखाम देखि वडा नं ७ को ओथामा काबेली दोभान क्षेत्र सम्मको भागमा पानीको सतह घटबढ हुन सक्ने भएकोले उक्त क्षेत्रको काबेली किनारमा सचेतना अपनाउन आयोजनाले सर्वसाधारणलाई आग्रह गरेको छ । सो दिन देखि परीक्षण कायम रहिञ्जेलको अवधिमा काबेली खोला किनारमा माछा मार्ने,नुहाउने,गाईबस्तु तथा पशु चौपाया छाड्ने तथा खोला किनारमा आवतजावत गर्ने कार्य नगरिदिन समेत आयोजनाले आग्रह गरेको छ ।
विद्युत प्रवाहको परीक्षण हुने दिन मंसिर ९ गते बिहान ७ः३० बजेदेखि प्रभावित क्षेत्रमा लाइनको तार छुने,टावरमा चढ्ने जस्ता कार्य नगर्न,नगराउन समेत आयोजनाले सबैलाई आग्रह गरेको छ । मिति २०८१ साल मंसिर ९ गते बिहान ७ः३० बजे देखि विद्युत प्रवाह गरी लाइनको परीक्षण गरिने भएकोले आयोजनाले निर्माण गरेको बिद्युत गृह रहेको रातेखोला देखि पाँचथर अमरपुरस्थित १३२ केभिए बिद्युत प्रसारण लाइन सम्मको भागको घाँटी छिने,खेवाङको सिबुदिन,कोयाभिर ढोक्सेनी,याङपाङ,फुन्द्रुवा,तेल्लोक,मेहेले,भालुखोप,खानीगाउँ,आम्बेगुदिन,सिनाम,डाडाँगाउँ,पञ्चमी,हिरुवादिन,थुम्बेदिन,चाक्सिबोटे,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं १ राईगाउँ हुँदै नेपाल विद्युत प्राधिकरणको पाँचथर अमरपुरस्थित १३२ केभिए बिद्युत प्रसारण लाइन सम्मको भागमा रहेको प्रसारण लाइनको तारमा छुने,टावरमा चढ्ने जस्ता कार्य नगर्न नगराउन समेत आयोजनाले आग्रह गरेको छ । सूचनाको बर्खिलाप गरी कुनै दुर्घटना भए आयोजना जिम्मेवार नहुने समेत उसले प्रष्ट पारेको छ ।