अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि मैवाखोलामा बन्यो सरोकारवालाको पालिका स्तरीय संयन्त्र

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न पालिका स्तरीय साझा संयन्त्र गठन गरिएको छ ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार गठित संस्थाले कार्यक्रम सञ्चालन सहजीकरणका लागि आवश्यक समन्वय र सहयोग गर्ने छ । देउकुमार लिम्बू अध्यक्ष रहेको तर्दथ संयन्त्रको उपाध्यक्षमा प्रमिला शेर्पा,सचिवमा डोलेश्वर निरौला,सहसचिवमा अमरबहादुर तामाङ र कोषाध्यक्षमा स्मिता लिम्बू रहनु भएको छ । टेकबहादुर बिक,साञ्जिता कार्कीडोली,पेम्बा शेर्पा र भानुभक्त गौतम सदस्य रहनु भएको छ । उक्त समितिले विधानको मस्यौदा तयार पार्ने र विधान पारित गरी संस्था दर्ता गर्ने प्रयोजनका लागि साधारणसभा समेत सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । मैवाखोला गाउँपालिकामा यही मंसिर १२ गते देखि अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान र विश्लेषण सहितको कार्यसंगै चिकित्सकहरुको टोलीसहित स्वास्थ्य शिविर सञ्चालन हुने छ । करुणा फाउण्डेसनको साझेदारीमा यो कार्य हुने छ ।

यता फुङलिङ नगरपालिकामा शनिवारदेखि वडा नं ११ फावाखोलाबाट अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र बितरण,आवश्यकता पहिचान सहित स्वास्थ्य शिविर सुरु भएको छ । फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाका अनुसार आइतवार यस्तो शिविर वडा नं १० फुरुम्बुमा सञ्चालन गरिएको छ भने मंसिर ३ गते सोमवार वडा नं ३ स्थित बासुसं मावि मेदिबुङमा,४ गते वडा नं ९ हाङदेवास्थित जनता माविमा र ५ गते वडा नं १ स्थित वडा कार्यालयमा शिविर सञ्चालन हुने छ । मंसिर ६ गते वडा नं ४ र ५ तथा ७ गते वडा नं ६ का सेवाग्राहीलाई लक्षित गरी ताप्लेजुङ उद्योग वाणिज्य संघमा शिविर हुने भएको छ । मंसिर ८ गते वडा नं ८ स्थित सिद्धकाली मावि दोखुमा,९ गते वडा नं ७ को वडा कार्यालयमा र १० गते वडा नं २ को वडा कार्यालयमा यस्तो शिविर सञ्चालन हुन लागेको नगर उपप्रमुख ओझाले जानकारी दिनुभयो ।

Similar Posts