उपनिर्वाचनका लागि सिकैचामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ३० । ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचामा हुने उपनिर्वाचनका लागि शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस विकास श्रेष्ठको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी बिपिन दुलालका अनुसार वडा नं ३ को कार्यालय रहेको स्थानमै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस श्रेष्ठले शनिवार राजनीतिक दल सहितको सर्वपक्षिय बैठक आवह्वान गरेको र सो बैठकमा राजनीतिक दलहरुसंग आईतवार हुने मनोनयनको प्रकृया सहितका बिषयमा छलफल हुने जानकारी दिनुभयो । निर्वाचन कार्यालय सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीका जनशक्ति खटिएका छन् ।

मुख्य निर्वाचन अधिकृत श्रेष्ठले सिकैचामा हुने उपनिर्वाचनका लागि मतदान स्थल तोकिएका दुर्गा मावि ओसे र सरस्वती मावि कुञ्जारीको समेत स्थलगत अवलोेकन गर्नु भएको छ । श्रेष्ठले निश्पक्ष,भयरहित,विबादरिहत र शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्ने कार्यमा सहयोग गर्न सिकैचावासी महानुभावहरुलाई आग्रह समेत गर्नु भएको छ । यसअघि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुले समेत सिकैचाको उपनिर्वाचनका लागि मतदान स्थल तोकिएका कुञ्जारी र सिकैचाको स्थलगत अवलोकन समेत गरिसक्नु भएको छ ।

२०७९ सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले बैदेशिक रोजगारीमा हङकङ गएर उतैबाट राजीनामा पत्र पठाएपछि सिकैचाको वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । सिकैचाको उपनिर्वाचनका लागि १ हजार ५ सय २८ मतदाता रहेका छन् । ति मध्ये कुञ्जारी मतदान स्थलमा १ हजार २६ र ओसे मतदान केन्द्रमा ५ सय २ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सिकैचाको उपनिर्वाचनका लागि नेपाली काँग्रेसले भीमकुमार लक्सम्बा,नेकपा एमालेले कुमारी साउदेन,नेकपा माओवादी केन्द्रले अम्बि साउदेन,राष्ट्रिय स्वतन्त्र पार्टीले देवीप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राजेन्द्र काङवालाई अघि सार्ने भनेको छ । नागरिक उन्मुक्ति पार्टीले समेत उम्मेदवार उठाउने तयारी गरेको बुझिएको छ ।

Similar Posts