खेवाङ र आङ्खोपलाई फुटबल उपाधि
-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २८ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न आङ्खोप कप फुटबल प्रतियोगिताको उपाधि खेवाङ स्पोर्टिङ क्लब र आयोजक आङ्खोप युवा समाजले जितेको छ । आङ्खोप कपको पुरुषतर्फ सिरिजंघा गाउँपालिका–७ खेवाङ र महिलातर्फ सिदिङ्वा गाउँपालिका–३ आङ्खोपले उपाधि जितेको हो ।
फाइनल खेलमा पाँचथर, फाल्गुनन्द गाउँपालिकाको टू स्टार सिर्जनशील क्लबलाई २–१ को गोलअन्तरले हराउँदै खेवाङ स्पोर्टिङ क्लबले उपाधि जितेको हो । उपाधि जितसँगै खेवाङले एक लाख रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । यस्तै उविजेता बनेको टू स्टार सिर्जनशील क्लबले ५१ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
त्यस्तै महिलातर्फ आयोजक आङ्खोप युवा समाजले फुङ्लिङ नगरपालिका–११ फावाखोलाको पाथीभरा युथ क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ को गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितसँगै आङ्खोपले ५१ हजार रुपियाँ राशिको नगद पुरस्कारका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता बनेको पाथीभरा युथ क्लबले ३१ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । खेलाडीलाई विभिन्न विधागत पुरस्कार पनि प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेतालाई कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम लगायतले पुरस्कार वितरण गर्नुभयो ।
शुभ दीपावलीको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ आठ टोलीको सहभागिता रहेको थियो । आङ्खोपस्थित सिंहेश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइएको प्रतियोगिता कात्तिक २१ मा सुरु भई २७ गते सम्पन्न भएको आयोजक आङ्खोप युवा समाजका सहसचिव सन्देश बुढाथोकीले जानकारी दिनुभयो ।