| | |

ताप्लेजुङमा अलैँचीको मूल्य मनको एक लाख रुपैयाँ

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २६ । निरन्तर भाउ बढिरहेको अलैँचीको मूल्य प्रतिमन एक लाख रुपियाँ पुगेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको मूल्य मन (४० किलोग्राम) को एक लाख रुपियाँ पुगेको हो ।
स्थानीय व्यवसायी कमल बरालका अनुसार फुङ्लिङ बजारमा सोमबार प्रतिमन एक लाख रुपियाँले कारोबार सुरु भएको छ । गुणस्तरीय अर्थात ठूलो दाना, धुलो र पुच्छररहित अलैँची उक्त मूल्यमा खरिदबिक्री हुन थालेको व्यवसायी बरालले जानकारी दिनुभयो । गएको शनिबार मनको ९७ हजार रुपियाँ रहेको मूल्य बढेर एक लाख पुगेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सामान्य अर्थात चलनचल्तीको अलैँची भने प्रतिमन ९४ हजार रुपियाँमा कारोबार भइरहेको छ । शनिबारसम्म चलनचल्तीको अलैँचीको स्थानीय बजार मूल्य मनको ९१ हजार रुपियाँ रहेको थियो । यसवर्ष अलैँची बजार निस्कन थालेदेखि निरन्तर मूल्य बढिरहेको र सो क्रम जारी रहेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रबिर रेग्मीले बताउनुभयो ।
फुङ्लिङ बजारका स्थानीय व्यवसायीसमेत रहनुभएका रेग्मीले निरन्तर वृद्धि हुँदै आएको अलैँचीको मूल्यले यसवर्ष एकपछि अर्को गर्दै ‘रेकर्ड’ राख्दै गएको बताउनुभयो । उहाँका अनुसार अलैँचीको मूल्य अझै बढ्ने सम्भावना रहेको छ । करिव डेढ दशकअघि प्रतिमन एक लाख २१ हजार रुपियाँ पुगेको अलैँचीको मूल्य, यसवर्ष सोही मूल्य भेटाउन सक्ने सम्भवाना बढेको व्यवसायी बताउँछन् ।
यसवर्ष सुरुदेखि नै मूल्य बढिरहेको र उत्पादनमा आएको कमीका कारण अलैँचीको मूल्यले रेकर्ड तोड्नसक्ने अनुमान लगाउन थालिएको हो । खेतीमा संलग्न किसानका अनुसार गतवर्षको तुलनामा यो वर्ष अलैँची उत्पादनमा ह्रास आएको छ । यता अलैँचीको मूल्य भने दिनप्रतिदिन बढ्दै जाँदा किसान तथा व्यवसायी उत्साहित छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts