सिकैचाको उपनिर्वाचन:एमालेबाट कुमारी साउदेन उम्मेदवार,अरु दल उम्मेदवार टुङ्ग्याउने अन्तिम गृहकार्यमा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २६ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा एमालेले कुमारी साउदेनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङ्वोले वडा कमिटीको बैठकबाट साउदेनलाई उम्मेदवार बनाउने सर्वसम्म्त निर्णय भएको जानकारी दिनुभयो । साउदेन २०७९ सालको स्थानीय तहको निर्वाचनमा तीन मतान्तरले काँग्रेसका दिलप्रसाद बोखिमसंग पराजित हुँदै जिल्लाको एकमात्र महिला वडाध्यक्ष हुने मौकाबाट चुक्नु भएको थियो । एमालेबाट छत्रबहादुर काङवा शक्तिलाल पौडेल र अमित काङवा समेतले उम्मेदवार बन्न आकाँक्षा देखाउनु भएको थियो । अन्तिम समयमा साउदेनलाई उम्मेदवार बनाएर चुनावमा जाने सर्वसम्मत निर्णय भएको एमाले ताप्लेजुङका सचिव सन्तोष चाम्लिङले जानकारी दिनुभयो ।

काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्न ५ जनाले नाम लेखाउनु भएको छ । वडा सभापति गोपाल चिमरिया,उपसभापति योगेन्द्र काङवा भीम लक्सम्बा, राजबहादुर योङया र टेकनाथ पौडेलले नाम लेखाएको वडा सभापति चिमरियाले बताउनुभयो । उम्मेदवार बारे निर्णय भई नसकेको नेपाली काँग्रेसका जिल्ला सचिव युकहांगवीर(डम्बर)हाङगामले बताउनुभयो ।

माओवादी केन्द्रले उम्मेदवारको बारे गृहकार्य भइरहेको जनाएको छ । उसले यसअघि कार्यवाहक वडाध्यक्ष भएर काम गर्नु भएका वडा सदस्य अम्बि साउदेनलाई वडा सदस्यबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बन्न आग्रह गरेको स्रोतले बताएको छ । माओवादी केन्द्रको सिरिजङ्गा गाउँपालिका कमिटी अध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले उम्मेदवारको सूची तयार भएको र केहिदिन भित्रै उम्मेदवार बारे अन्तिम निर्णयमा पुग्ने जानकारी दिनुभयो । यसपटक गठबन्धनको कुरा नरहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समेत उम्मेदवार खडा गर्ने जनाएको छ । जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठको नेतृत्वमा राश्वपाको टोली सिकैचा पुगेर फर्किएको छ । ‘हाम्रो उम्मेदवार रहन्छ,तर को रहन्छ भन्ने अन्तिम निर्णय भएको छैन’श्रेष्ठले भन्नुभयो । २०७९ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष बोखिम बैदेशिक रोजगारीको सिलसिलामा हङकङ गएर करिव ११ महिना पछि उतैबाट राजीनामा पत्र पठाएपछि सिकैचामा उपनिर्वाचन हुन लागेको हो ।

सिकैचाको उपनिर्वाचनमा १ हजार ५ सय बढी मतदाता हुने देखिएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज(विपिन)दुलालका अनुसार कुञ्जारी मतदानस्थलमा १ हजार २६ जना र ओसे मतदान स्थलमा ५ सय २ जना गरी कूल १ हजार ५ सय २८ जना मतदाता हुने देखिएको हो । यद्यपी,मतदाताको आधिकारिक तथ्याङ्क भने निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गर्दा मात्र यकिन हुने भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts