ताप्लेजुङमा उपनिर्वाचनको सरगर्मी बढ्यो
-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २५ । ताप्लेजुङमा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा रिक्त रहेको एकमात्र सिरिजंघा गाउँपालिका–३ सिकैँचामा वडाध्यक्ष पदका लागि उप निर्वाचन हुन लागेको र सो निर्वाचनका सरगर्मी बढ्दै गएको हो ।
सिकैँचामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने निश्चित भएसँगै यतिबेला ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायतका दलले आफ्नो पक्षमा माहोल बनाउन गृहकार्यमा जुटेका छन् । दलहरु आफ्नो पक्षमा माहोल बनाउने र उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरतमा रहेका छन् ।
सम्बन्धित वडाको वस्तुस्थितिअनुसार उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको नेपाली काँग्रेसले जनाएको छ । शनिबार काँग्रेसले जिल्ला सभापति गजेन्द्र तुम्याहाङसहितका पदाधिकारीको टोली सिकैँचा पुगेर उपनिर्वाचन लक्षित कार्यक्रम गरेको छ । वडाभित्रको तत्तकालको अवस्थाबारे जानकारी लिन र आफ्नो पार्टीतिर चुनावी माहोल बनाउनलाई पदाधिकारीसतिको टोली सिकैँचामा पुगेको जिल्ला सभापति तुम्याहाङले जानकारी दिनुभयो ।
यस्तै नेकपा एमालेका जिल्ला सचिव सन्तोष चाम्लिङले पनि पार्टीले उपनिर्वाचनको तयारीलाई तीब्र पारेको बताउनुभयो । आइतबार पार्टीका पोलिट व्युरो सदस्य तथा प्रदेशसभाका सांसद तिलकुमार मेन्याङ्बोसहित जिल्ला नेतृत्वको टोली सिकैँचामा पगेर उम्मेदवार छनोट, चुनावी रणनीति लगायतको विषयमा छलफल गरिएको चाम्लिङले जानकारी दिनुभयो ।
त्यस्तै माओवादी केन्द्रले पनि आन्तरिक रुपमा चुनावको तयारी गरिरहेको केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिनुभयो । सकेसम्म ठूला दललाई पराजित गर्नेगरी तयारीमा जुट्दै आएको बुढाक्षेत्रीले बताउनुभयो ।
यसरी निर्वाचनको मिति नजिकिँदै गएसँगै दलहरुले वडामा पुगेर कार्यकर्ता तथा मतदातासँग भेटघाट, परापर्श गर्नेजस्ता गतिविधि सुरु गरेको हुन् । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई दिलप्रसाद बोखिम निर्वाचित हुनुभएको थियो । बोखिमले वडाध्यक्ष पदबाट राजिनामा दिएपछि सिकैँचामा उपनिर्वाचन हुन लागेको हो ।