ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको बिषयमा झडप,६ जना घाइते
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २३ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बनाउने बिषयमा भएको बिवादका क्रममा भएको झडपमा परी ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)रवि रावलले दुई सुरक्षाकर्मी सहित ६ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेमध्ये तीनजनालाई उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । केवलकार निर्माणको बिपक्षमा रहेर आन्दोलनरत पहिचान पक्षधर र केवलकार निर्माणको पक्षमा रहेकाहरुबिच झडप र ढुङ्गा हानाहान भएको थियो । पहिचान पक्षधर चन्द्र मादेन घाइते हुनुभयो । यस्तै फक्ताङलुङ गाउँपालिका वडा नं ५ का अर्जुन लिम्बू,फुङलिङ नगरपालिका वडा नं ४ का दामोदर अधिकारी र मेरिङदेन गाउँपालिका वडा नं ४ का कुमार शेर्पा घाइते हुनु भएको छ । यस्तै सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवल्दार अभिनाझ माझी घाईते हुनु भएको छ । घाइतेमध्ये अर्जुनको दाहिने कुममा चोट रहेको प्रहरीले बताएको छ । मादेनको टाउको र दाहिने हातको चोरी औंलामा चोट रहेको छ भने अधिकारीको बायाँ आँखाको डिलमाथि र तल चोट रहेको प्रहरीले जानकारी दिएको छ । शेर्पाको टाउकोमा चोट रहेको छ । सुरक्षाकर्मी बाहेक घाइतेभएका मध्ये मादेन केवलकार निर्माणको बिपक्षमा तथा अधिकारी र शेर्पा पक्षमा रहेको प्रहरीले भनेको छ । अर्जुनलाई प्रहरीले सर्वसाधारण भनेको छ ।
घाइते सुरक्षाकर्मीमध्ये ओलीको घुँडामुनि चोट रहेको छ भने माझीको दाहिने हातमा चोट रहेको छ । केवलकार निर्माण स्थलमा स्काभेटर मेसिन लाने विषयबाट विवाद सुरुभएपछि झडप भएको थियो । निर्माण कम्पनी हिमालयन कन्ट्रक्सनले काफ्लेपाटीबाट केवलकार निर्माणस्थलतर्फ मेसिन लैजाँदा आन्दोलनरत पक्षले अवरोधको प्रयास गरेका थिए । निर्माणस्थलतर्फ मेसिन लैजाँदै गर्दा प्रहरीले मेसिनको चाबी लिएको थियो । प्रहरीसँग चाबी मागेर केवलकार निर्माण पक्ष आन्दोलित भएको थियो । त्यही क्रममा दुई पक्षबिच ढुंगा हानाहान भएर झडपको स्थिति सृजना भएको हो ।
सुरक्षाकर्मीले झडप नियन्त्रणमा लिएपछि काफ्लेपाटी क्षेत्रमा देखिएको तनाव केहि शान्त भएको छ । सो क्षेत्रमा सुरक्षावलको बाक्लो उपस्थिति तैनाथ गरिएको जिल्ला प्रहरी प्रमुख रावलले बताउनुभयो । झडप थप उत्तेजित नबनाउन र तनावको स्थिति साम्य पार्न मेसिनको चावी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रहरीले नियन्त्रणमा लिएको मेसिनको चावी शुक्रवार साँझ सम्म निर्माण कम्पनीलाई दिएको छैन । यो समाचार तयार पार्दासम्म केवलकार निर्माण पक्षधर र केवलकार निर्माणको बिरोधमा रहेका पक्षधर आ–आफनै क्षेत्रमा रहेका छन् । केवलकार निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्ट्रक्सनका प्रोपाईटर इन्द्र केदेमले बिहान केवलकार निर्माण कार्यको शिलान्यास गरिएको र निर्माण कार्य सुरु गर्न मेसिन लैजाने प्रयास जारी राखिएको जानकारी दिनुभयो ।