| |

अलैँचीको मूल्य मनको ९० हजार

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २२ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन नब्बे हजार रुपियाँ पुगेको छ । यसवर्ष नयाँ उत्पादन निस्कन थालेदेखि नै सामान्यरुपमा मूल्य वृद्धि हुँदै आएको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९० हजार रुपियाँ पुगेको हो ।
करिव दुई सातासम्म प्रतिमन ८९ हजार रुपियाँमा स्थिर रहेको अलैँचीको मूल्य बुधबार बढेर ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायीले बताएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा बुधबार अलैँची प्रतिमन ९० हजार रुपियाँमा कारोबार भएको स्थानीय व्यवसायी कमल बरालले बताउनुभयो । बरालका अनुसार दसैँको समयमा अलैँची प्रतिमन ८२ देखि ८४ हजार रुपियाँ सम्ममा कारोबार भएको थियो ।
व्यवसायीका अनुसार दसैँ सकिएपछि स्थानीय बजारमा अलैँचीको सामान्य रुपमा मूल्य वृद्धि हुन सुरु भएको थियो । दसैँपछि प्रतिमन एक हजार र एक हजार ५०० ले वृद्धि हुँदै केही दिनको अन्तरालमै ८९ हजार रुपियाँ पुगेको अलैँची व्यवसायी संघका जिल्ला अध्यक्ष भद्रबिर रेग्मीले बताउनुभयो । फुङ्लिङ बजारका स्थानीय व्यवसायीसमेत रहनुभएका रेग्मीले अलैँचीको मूल्य प्रतिमन ८९ हजार रुपियाँ भने करिव दुई सातासम्म कायम रहेको बताउनुभयो ।
उहाँका अनुसार स्थानीय बजारमा बुधबार प्रतिमन ९० हजार रुपियाँमा अलैँचीको खरिद बिक्री भएको छ । ताप्लेजुङमा प्रतिमन ९० हजारले खरिद बिक्री हुँदा झापाको विर्तामोडमा भने एकदेखि दुई हजार रुपियाँसम्म बढीमा अलैँचीको कारोबार हुने स्थानीय व्यवसायी बताउँछन् । अलैँची व्यवसायी संघका अनुसार यसवर्ष नयाँ अलैँची बजार निस्कन थाल्दा नै प्रतिमन ५५ देखि ६० हजार रुपियाँ सम्ममा कारोबार भएको थियो ।
भदौको पहिलो सातादेखि बजारमा अलैँची निस्कन थाल्ने गरेको छ । अलैँची बजारमा निस्कन थालेको करिव तीन महिना पुग्न लाग्दा सुरु देखि नै क्रमशः मूल्य वृद्धि हुँदै बुधबार प्रतिमन ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार यसवर्ष अलैँचीको मूल्यमा हालसम्म उतारचढाव अर्थात मूल्य घटबढ आएको छैन । सामान्य रुपमा भए पनि मूल्य वृद्धि हुँदै आएको उनीहरुको भनाइ छ ।
हालसम्मको कारोबार र उत्पादनको अवस्थालाई हेर्दा यसवर्ष अलैँचीको मूल्य प्रतिमन एक लाख रुपियाँ नाघ्ने अनुमान लगाउन थालिएको छ । गत वर्षभन्दा उत्पादन कमी भएकाले अलैँचीको मूल्य वृद्धि हुने अगुवा किसान तथा व्यापारीको अनुमान छ । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा स्थानीय किसान तथा व्यवसायीमा खुसी छाएको छ ।
यता अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीमा पर्दछ । जिल्लाका अधिकांस किसान खेतीमा संलग्न रहँदै आएका छन् भने करिव चार हजार ५०० बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट करिव तीन हजार मेट्रिकटन अलैँची उत्पादन हुने गरेको तथ्यांक रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts