माथिल्लो काबेली जलविद्युत आयोजनाको २५ प्रतिशत काम सकियो,अवरोध नभए २०८२ साल साउनबाट बिद्युत उत्पादन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १५ । ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा गाउँपालिका भएर बग्ने काबेली नदीको पानी उपयोग गरेर बनाइँदै गरेको माथिल्लो काबेली जलविद्युत आयोजनाले एक चौथाइ काम सम्पन्न भएको बताएको छ ।
२८.१ मेगावाट क्षमताको जलविद्युत आयोजनाका व्यवस्थापक डाक्टर प्रकाश ढुङ्गानाले भौतिक कूल काममध्ये २५ प्रतिशत पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत चैत अन्तिमबाट निर्माणको काम थालिएको हो ।‘ प्राकृतिक विपद् सहितका कुनै समस्या नभए २०८२ साल साउन १ गते भित्रमा आयोजना निर्माणको कार्य पूरा भई विद्युतको परीक्षण प्रसारण हुन सक्ने गरी काम अघि बढेको ढुङ्गानाले जानकारी दिनुभयो । आयोजनाको हेडवर्क सिरिजङ्गा गाउँपालिकाको तेल्लोकमा र विद्युत गृह सिनाममा हुने छ । विद्युत आयोजनाका लागि खोयाहाङ देखि सिनाम सम्म गरी ५ किलोमिटर दुरीको सुरुङमार्ग हुने भएको छ । पिस इनर्जी कम्पनी प्रालि आयोजनाको मुख्य प्रवद्र्धक रहेको छ । पिस इनर्जी अमेरिकामा स्थापना भएको कम्पनी टेस्ला हाइड्रो युएसएको नेपाली सहायक कम्पनी हो ।
व्यवस्थापन इकाई सहित प्राविधिक जनशक्तितर्फ ८० जना र निर्माण क्षेत्रमा १ सय ३५ जना जनशक्ति परचालन भइ निर्माणको काम द्रुत गतिमा बढेको ढुङ्गानाले जानकारी दिनुभयो । सिरिजङ्गा गाउँपालिकाको सिनाम,आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्जा गाउँपालिकाको लिम्बूदिन र मेहेले आयोजनाको मुख्य प्राविधिक क्षेत्र हुन् । आयोजनाका लागि कुल ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागत अनुमानमध्ये ७५ प्रतिशत हिस्सा नेपाली बैंकहरुको ऋण लगानी रहने छ भने २५ प्रतिशत हिस्सा प्रवद्र्धकहरुको स्वपुँजी रहने भएको छ ।
माछापुच्छ्रे बैंकको अगुवाइमा बैंकहरूले ऋण लगानी गर्ने भएका छन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडिसिएल),राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंक ऋण लगानीका साझेदार वित्तीय निकाय हुने प्रवद्र्धक कम्पनीले जनाएको छ । आयोजनाले स्थानी प्रभावित तथा सर्वसाधारणका लागि आइपिओ समेत जारी गर्ने जनाएको छ । आयोजनामार्फत करिव साढे ३ करोड रुपैयाँ सामुदायिक उत्तरदायित्व अन्र्तगत समुदायमा खर्च हुने भएको छ । सामुदायिक उत्तरदायित्वको रकम परिचलान गर्दा सम्वन्धित पालिका र वडासंगको परार्मशका आधारमा योजना छनौट र पालिका तथा वडाकै अगुवाईमा खर्च हुँदै आएको समेत ढुङ्गानाले जानकारी दिनुभयो । (सांकेतिक तस्बिर मात्र)