कुनै दल,समूह वा पक्षको पक्षपोषणमा नलागी स्वतन्त्र रुपले कार्य सम्पादन गर्ने ताप्लेजुङका प्रजिअ शर्माको भनाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १४ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले कुनै दल,समूह वा पक्षको पक्षपोषणमा नलागी स्वतन्त्र र निश्पक्ष हिसाबले कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले सूचनामा नागरिकको पहुँच स्थापित गर्ने सवालमा कुनै किसिमको सम्झौता नगर्ने समेत बताउनुभयो ।

ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएर आएको दोस्रो दिन बुधवार ताप्लेजुङका सञ्चारकर्मीसंग साक्षात्कार गर्दै प्रजिअ शर्माले सेवाप्रति विश्वास नभए ढुङ्गा हान्ने बिद्यामान प्रवृत्ति बिरुद्ध जिल्ला प्रशासन कार्यालयलाई न्याय माग्दै उजुरी लिने भरोसा योग्य केन्द्र बनाउन आफ्नो जमर्को रहने बताउनुभयो । जनताले सन्तुष्टी पाउने गरी सेवा दिने कार्यमा आफ्नोतर्फबाट उचित पहलकदमी हुने प्रजिअ शर्माको भनाई थियो । शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने दोहोर्याउँदै प्रजिअ शर्माले विकास व्यवस्थापनका कार्यहरुमा आफुले सहजीकरण गर्ने बताउनुभयो । नागरिक समाजका अगुवाले आफ्नो विवेकको प्रयोग गरेर समाजका प्रभावकारी कार्य सम्पादन हुने वातावरण निर्माणका लागि योगदान दिन सक्ने उहाँको भनाई थियो । उहाँले अबरुद्ध योजनाहरुको सञ्चालन तथा व्यवस्थापनको सूची बनाई आफ्नोतर्फबाट हुने कार्यको सहजीकरण गर्ने र उपल्लो निकायमा पुर्याउनुपर्ने बिषयमा मध्यस्थताको भूमिका निर्वाह गर्ने समेत बताउनुभयो ।

सुशासन र प्रशासनबिचको तादम्यता मिलाउने कार्यमा प्रमुख जिल्ला अधिकारीको हैसियताबाट उच्च स्तरको भूमिका निर्वाह गर्ने शर्माले बचन दिनुभयो । सेवा प्रवाह पारदर्शी,जनमैत्री,समायानूकुल र प्रभावकारी हुनुपर्नेमा आफु अडिग रहेको प्रजिअ शर्माको भनाई छ । अरु बिषयमा बिभाजित भएपनि विकास निर्माणका सवालमा समाज विभाजित हुन नहुने मत राख्दै प्रजिअ शर्माले एकीकृत,सहिष्णु र भातृत्व सहितको समाज स्थापनामा नागरिकहरुको समेत उत्तिकै बलियो भूमिका स्थापित हुने बताउनुभयो । जिल्लाका साझा सवालहरुको सम्बोधनमार्फत जनमुखी कार्य सम्पादनको नतिजा ल्याउने गरी आफुले मेहनेत लगाउने समेत प्रजिअ शर्माको भनाई थियो ।

यहाँका प्रजिअ रविन्द्र आचार्यको ७ महिनाकै अवधिमा सरुवा भएपछि शर्मा नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा यहाँ आउनु भएको हो । शर्मा पछिल्लो १० बर्ष यता लगातार गृह प्रशासन क्षेत्रमा कार्यरत रहनु भएको छ । शर्मा यहाँ आउनु अघि रौतहटको चन्द्रनिगाहापुर इलाका प्रशासन कार्यालयको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । शर्माले यसअघि मुस्ताङ सहितका जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिक्नु भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts