सामानको प्रकृति अनुसार व्यवसाय दर्ता गर्न अनुगमन समितिको निर्देशन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १४ । एउटा प्रकृतिको व्यवसाय दर्ता गरी अर्कै प्रकृतिका सामानहरु बिक्री गर्दै आएका ताप्लेजुङका पसल सञ्चालकलाई व्यवसायको प्रकृति अनुसार दर्तामा आउन जिल्ला अनुगमन समितिले निर्देशन दिएको छ ।

फुङलिङ नगरपालिका,जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रुपमा गर्दै आएको अनुगमनका क्रममा यस्तो निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बतउनुभयो । उहाँका अनुसार व्यवसाय सञ्चालकले व्यवसायको प्रकृति अनुसार दर्ता तथा नविकरण प्रकृयामा आउनु अनिवार्य रहेको छ । खाद्यान्न बिक्री हुने पसलहरुमा मदिरा समेत बिक्री हुँदै आएको पाइएकोले प्रकृति अनुसार व्यवसाय दर्ता गर्न निर्देशन गरिएको उहाँले बताउनुभयो । मदिरा बिक्रीका लागि ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट अनुमति लिनुपर्ने तथा सालिन्दा नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ । अनुगमन समितिले बुधवार तोक्मेस्थित पेट्रोलपम्प लाइन क्षेत्रका पसल तथा होटलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा भेटिएका म्याद नाघेका उपभोग्य सामग्री जफत गरी नष्ट गरिएको समेत सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो । केहि पसलहरुमा मूल्य सूची नभएको तथा मूल्य सूची भएका पसलहरुमा समेत नियमित अद्यावधिक नगरेको पाइएकोले व्यवसायीलाई सजग गराइएको उहाँले बताउनुभयो ।

अनुगमन टोलीले होटल तथा पसलहरुको प्रचलित दररेटका बारेमा समेत जानकारी लिएको छ । मूल्यमा एकरुपता कायम गर्न तथा प्रचलित दररेट भन्दा बढीमा बिक्री भए नभएको थाह पाउनका लागि बिक्री हुँदै आएको मूल्य समेतका बारेमा जानकारी लिईएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले पटका,आतिषबाजी,भुईचम्पा सहितका बिष्फोटक पदार्थको बिक्री भए नभएको बारे समेत सुक्ष्म अनुगमन गरेको बताएको छ । यस्तै होटल तथा पसलहरुमा सफाईमा ध्यान दिन,दर्ता तथा नविकरण हुन नसकेका पसल सञ्चालकलाई तिहार लगत्तै उक्त प्रकृया पूरा गर्न समेत निर्देशन दिईएको ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बूले बताउनुभयो । अनुगमन टोलीले अनुगमनका क्रममा दिएको निर्देशन पालना भए नभएको बारे बुझ्न अनुगमनलाई निरन्तरता दिने निर्णय समेत लिएको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts