अनुभव र समस्या साटासाटका लागि ताप्लेजुङमा न्यायिक समिति सञ्जाल गठन,सञ्चालन कार्यविधि पनि बनाइने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ८ । ताप्लेजुङ जिल्लाका स्थानीय तहका न्यायिक समितिहरुका अनुभव र समस्या एकअर्कामा साटासाट गर्ने उद्देश्य सहित जिल्ला न्यायिक समिति सञ्जाल गठन भएको छ ।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा संयोजक रहेको न्यायिक सञ्जालमा जिल्लाका अरु आठवटा गाउँपालिकाका उपाध्यक्ष सदस्य रहनु भएको छ । समितिमा पाथीभरा याङवरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ,आठराई त्रिबेणीका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ,मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङवाङ,फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा(विकास) सदस्य रहनु भएको छ । यस्तै सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बू,मैवाखोला गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू,सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना) र मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा सदस्य हुनुहुन्छ ।

सञ्जालको बैठक र सञ्चालन कार्यविधि बनाउने तयारी गरिएको फुङलिङ नगरपालिकाको न्यायिक समितिको सचिवालयका सदस्य सचिव कृष्णप्रसाद सुबेदीले जानकारी दिनुभयो । संयोजक ओझाका अनुसार बैठक प्रत्येक स्थानीय तहमा बस्नेगरी कार्यविधि तय हुने छ । सबै स्थानीय तहका न्यायिक समितिहरुले सम्पादन गर्दै आएका काम तथा न्यायिक समितिहरुले झेल्नु परिरहेका समस्या सुनेर साझा संयन्त्रमार्फत समस्या समाधानका लागि योजना बनाउने र एकअर्काबिचको अनुभव आदान–प्रदान गर्ने उद्देश्य सहित यस्तो सञ्जाल गठन भएको ओझाले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले गठित नयाँ संयन्त्रमार्फत न्यायिक समितिहरुलाई कार्य सम्पादनमा सहजता आउने विश्वास लिनुभयो । सञ्जाल गठन अघि यहाँका स्थानीय तहमा रहेका न्यायिक समितिका संयोजकहरुले आ–आफ्ना क्षेत्रमा भइरहेका कार्य सम्पादनको अवस्था र न्यायिध समितिले भोग्नु परिरहेका समस्या बारे अनुभव बताउनु भएको थियो । जिल्ला प्रहरी कार्यालय,जिल्ला सरकारी वकिल कार्यालय,पत्रकार महासंघ,बार एशोसिएसन,गैर सरकारी संस्था महासंघ,मानव अधिकारवादी संघसंस्थाका प्रतिनिधिहरुलाई पनि न्यायिक सञ्जालले सहयोगका लागि आवह्वान गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिलाई दुई किसिमका अधिकार क्षेत्र दिइएको छ । ऐनको दफा ४७(१) अन्र्तगतका विवादको निरुपण(कारवाही र किनारा)गर्ने र ऐनको दफा ४७(२) अन्र्तगतका विवाद मेलमिलापको माध्यमबाट समाधान गर्ने दुई अधिकार क्षेत्र न्यायिक समितिमा निहित रहेको छ ।

न्यायिक समितिहरुले मेलमिलापलाई पहिलो प्राथमिकता दिएर विवादको निरुपण गर्दै आएका छन् । ऐनले पनि मेलमिलापलाई प्राथमिकता दिनुपर्ने भनेको छ । मेलमिलाप हुन नसकेमा मात्र दफा ४७(१) को बिषयमा निर्णय लिनुपर्ने हुन्छ । दफा ४७(२) अन्र्तगतको बिषय भने मेलमिलापको माध्यमबाट मात्र समाधान गर्ने र मेलमिलाप हुन नसके सोहि व्यहोरा लेखेर विवाद समाधानका लागि जिल्ला अदालत जानु भनेर विवादका पक्षहरुलाई सुनाउनुपर्ने व्यवस्था रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts