ताप्लेजुङ सहित १० वटा जिल्लामा हिमाली जडिबुटीहरुको संरक्षण र दिगो व्यपारका लागि ५ बर्षे कार्यक्रम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ५ । ताप्लेजुङ सहित नेपालका १० वटा जिल्लाहरुमा हिमाली जडिबुटीहरुको संरक्षण र दिगो विकासका लागि ५ बर्षे परियोजना सञ्चालन हुने भएको छ ।

समृद्ध र उत्थानशील समुदाय,सुद्रिढ नीति र जिम्मेवार मूल्य श्रिंखलामा आधारित रहेर दिगो,जिम्मेवार र समतामुलक व्यपारका माध्यमबाट जैविक विविधताको संरक्षण गर्ने उद्देश्य सहित एन्साब नेपालले यस्तो कार्यक्रम अघि सारेको हो । एन्साब नेपाल २०४९ सालमा स्थापना भइ जैविक विविधता संरक्षण,दिगो वन व्यवस्थापन सहितका क्षेत्रमा क्रियाशिल रहँदै आएको संस्था हो । एन्साब नेपालका कार्यक्रम निर्देशक डाक्टर दीपेश प्याकुरेलका अनुसार गरिवी न्यूनीकरण र जीविकोर्पाजन संगै प्राकृतिक स्रोत व्यवस्थापनका लागि कार्यक्रम सञ्चालन हुनेछन् । परियोजनाले संरक्षण र व्यपारका हिसावले महत्वपूर्ण जडीबुटीको मुख्य उत्पादन क्षेत्र रहेका नेपालका २७ वटा जिल्लालाई समेटेपनि १० जिल्लामा भने महत्वका साथ कार्यक्रम सञ्चालन हुने प्याकुरेलले जानकारी दिनुभयो । प्याकुरेलका अनुसार महत्वका साथ कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा पूर्वको ताप्लेजुङ सहित दार्चुला,बझाङ,बाजुरा रहेका छन् । यस्तै हुम्ला,जुम्ला,मुगु,डोल्पा,रुकुम पूर्व र गोर्खामा समेत कार्यक्रम सञ्चालन हुने छ ।

कार्यक्रममार्फत जीविकोपार्जनमा सुधार भइ गरिवी न्यूनीकरण हुने,२० हजार जडिबुटी संकलकले तालिम पाउने र कम्तिमा ४० प्रतिशत महिला सहित १० हजार जडिबुटी संकलनको आम्दानी बढ्ने अपेक्षा गरिएको छ । यस्तै सामुदायिक वनका तीन हजार छ सय उपभोक्ता स्वेच्छिक प्रमाणीकरणका लागि तयार हुने र स्थानीय स्तरका जडिबुटीमा आधारित कम्तिमा २० वटा उद्यम प्रविधिको सुधार हुने अपेक्षा परियोजनाले लिएको छ ।

२०८५ साल चैत सम्म सञ्चालन हुने परियोजना अवधिमा नेपालभरका कार्यक्रममा करिव ३२ करोड रुपैयाँ खर्च हुने एन्साब नेपालले जनाएको छ । परियोजनामार्फत प्राकृतिक स्रोत व्यवस्थापनतर्फ करिव १५ लाख हेक्टर क्षेत्रफलमा संरक्षण र ब्यपारका हिसावले महत्वपूर्ण जडिबुटीको स्रोत सर्वेक्षण गरिने भएको छ । यस्ता जडिबुटीहरुमा अतिस,काकोली,कुड्की,गुच्ची च्याउ,जटामासी,पदमचाल,पाँचऔंले,यार्सागुम्बा,सतुवा,सुगन्धवाल,सेतकचिनी र लेकको पाखनबेद रहेका छन् । लेकको पाखनबेद ताप्लेजुङका सरोकारवालाले स्रोत सर्वेक्षणका लागि थप गरेको जडिबुटी हो । वन लसुन,डल्ले चुक,भुँई चुक,धुपी,ढँटेरो,सुनपाति सहितका जडिबुटीलाई सम्भाव्य सर्बेक्षण सूचीमा राखिएको छ ।

परियोजनामार्फत जडिबुटी संकलक,स्थानीय व्यपारी,प्रशोधनकर्ता,स्थानीय स्रोत व्यक्ति र जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने सामुदायिक संस्थाहरु दिगो स्रोत व्यवस्थापन,व्यपारका असल अभ्यास,सुशासन र फेयरवाइल्ड मापदण्ड सम्वन्धी क्षमता अभिबृद्धि गरिने छ । जडिबुटीको दिगो संकलन,प्रशोधन र व्यपारलाई बढावा दिने,हरित उद्यम प्रवद्र्धन गर्ने,संकलक दर्ता प्रणाली लागु गर्ने,संकलनकलाई स्वेच्छिक प्रमाणीकरणमा सामेल गराउने कार्य समेत परियोजनामार्फत हुनेछन् ।

परियोजना अवधिमा हिमाली क्षेत्रमा पाइने जडिबुटीको स्रोत सर्बेक्षण पुस्तिका तयार गरिने छ भने संरक्षण र व्यपारका आधारमा महत्वपूर्ण जडिबुटीको सहभागितामुलक स्रोत सर्बेक्षणका कार्य हुने छन् । बहुमूल्य जडिबुटीहरुको उत्पादकत्वमा बृद्धि गर्ने,सामुदायिक वन उपभोक्ता समूहहरुको कार्ययोजना नविकरण अथवा निर्माण गर्ने,जडिबुटीको व्यपार तथा मूल्य श्रिंखला विश्लेषण गर्ने,दिगो व्यपारको योजना बनाउने,उपयुक्त ट्रेसिबिलिटी(पत्ता लगाउने क्षमता)प्रणालीको विकास गर्ने र दिगो व्यपार सम्झौताका लागि व्यपारीबिचको सम्वन्ध बिस्तार गर्ने कार्यक्रम समेत परियोजनाले समेटेको छ ।

यस्तै सहभागिता मुलक भू–प्रजाति व्यवस्थापन तथा अनुगमनका माध्यमबाट उच्च हिमाली भेगको १ लाख हेक्टर भन्दा बढी वन क्षेत्रको दिगो व्यवस्थापनको कार्यक्रम समेत परियोजनामार्फत हुने भएको छ । परियोजना अवधिमा तीनसय पचासवटा सामुदायिक वनले दिगो वन व्यवस्थापनको तालिम पाउने भएका छन् । उक्त मध्ये कम्तिमा दुईसय असी वटा सामुदायिक वनले वन व्यवस्थापनबाट सिकेको ज्ञानलाई समूहमा अभ्यास गर्न सक्ने बनाइने भएको छ । यस्तै कम्तिमा एकसय नब्बे वटा समुदायिक वनमा वनस्रोत माथिको दोहन रोक्नेगरी क्रियाकलाप सञ्चालन गरिने भएको छ ।

परियोजना अवधिमा कम्तिमा ६० वटा सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजनामा दिगो व्यवस्थापन,जडिबुटी पुर्नउत्पादन र सामुदायिक अनुगमनको व्यवस्थापा गरी कार्ययोजना नविकरण तथा योजना निर्माण गरिने भएको छ । डिपार्टमेन्ट अफ इन्भाइरोमेन्ट,फुड एण्ड रुरल अफेयर्स युके र डार्बिन इनिसिएटिभ युके मुख्य दातृ निकाय रहेको परियोजनामा ट्राफिक इन्टरनेसनल युके,एन्साब नेपाल,साुमदायिक वन उपभोक्ता महासंघ,फेयर वाइल्ड फाउण्डेसन,युनिभर्सिटी अफ कोपनहेगन डेनमार्क,युनिभर्सिटी अफ अक्फोर्ड युके, त्रिभुवन विश्व विद्यालय र विश्व वन्यजन्तु कोष भारत साझेदार रहने छन् ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय,नेपाल हब्र्स तथा हर्बल उत्पादन संघ,चाइना एसोशिएसन अफ ट्रेडिसनल चाइनिज मेडिसिन,चाइना स्ट्यान्डर्ड कन्फर्मिटी एसेसमेन्ट कम्पनी लिमिटेड र टेरा हिमालय प्रालि भुटान सहयोगी निकायको रुपमा रहने एन्साब नेपालले जनाएको छ ।

ताप्लेजुङको मिक्वाखोला,फक्ताङलुङ,सिदिङ्वा र सिरिजङ्गा गाउँपालिका क्षेत्रमा रहेका ३२ वटा सामुदायिक वन क्षेत्रमा यो कार्यक्रम सञ्चालन हुने तय भएको एन्साब नेपाल ताप्लेजुङका कार्यक्रम संयोजक आयुष भट्टराईले जानकारी दिनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ( फेकोफन)का उपाध्यक्ष बिर्खबहादुर शाहीले समृद्धि,आर्थिक विकास,दिगो वन व्यवस्थापन र जडिबुटीको संरक्षण तथा व्यपारका लागि यो अभियान उत्तम हुने विश्वास लिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,डिभिजन वन प्रमुख नथुनी गोहिवार यादव,सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझा, पारिवारिक निजी वन संघका जिल्ला अध्यक्ष इन्द्रबहादुर गुरुङ,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम र हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई सहितले परियोजना सुरु हुनु स्वागतयोग्य रहेको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts