पाथीभरा मन्दिरमा शनिवार एकैदिन पुगे झण्डै ६ हजार दर्शनार्थी,यो संख्या असोज भरी आएका भन्दा बढी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ३ । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा शनिवार एकैदिन झण्डै ६ हजार तीर्थालुले मन्दिरको दर्शन गरेका छन् । यो संख्या सिजनकै तथा असोज महिना भरको भन्दा पनि बढी तथ्याङ्क हो ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार शनिवार ५ हजार ९ सय ८३ जनाले मन्दिरको दर्शन गरेका छन् । असोज महिना भरमा ५ हजार ९ सय ४९ जना दर्शनार्थीले पाथीभराको दर्शन गरेको तथ्याङक रहेको पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले जानकारी दिनुभयो । असोज दोस्रो साता परेको अबिरल बर्षापछि मेची राजमार्ग तथा तमोर करिडोर अबरुद्ध बनेपछि नवरात्रको समयमा पनि पाथीभरा सुसान जस्तो थियो । दुबै सडक मार्ग सुचारु भएसंगै पाथीभरा मन्दिर दर्शन गर्ने तिर्थालुलको संख्यामा दिनहुँ बृद्धि हुँदै गएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो ।

धनकुटाबाट पाथीभरा मन्दिरको दर्शन गर्न आउनु भएका तीर्थालु गोपाल बराइलीले पाथीभरा क्षेत्रको माथिल्लो फेदीबाट शनिवार बिहान २ः०० बजे उठेर मन्दिरतर्फ लाग्दा तीर्थालुहरु पदमार्गमा प्रसस्तै भेटिएको जानकारी दिनुभयो । पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले तिर्थालुको चाप बढेसंगै मन्दिर परिसरमा तीर्थालुको व्यवस्थापनका लागि लाइन लगाई पूजाआजा गर्ने प्रवन्ध गरिएको जानकारी दिनुभयो । ‘तिर्थालुलाई सहज रुपले पूजागरी फर्कने गरीको व्यवस्थापन गरिएको छ’महतले भन्नुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts