|

पानीको सतह घटे नावाखोलामा अस्थायी डाइभर्सन बनाएर गणेशचौक सम्म यातायात सुरु गर्ने योजनामा सडक कार्यालय

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १७ । तमोर करिडोर चतारा–मूलघाट–सुभाङखोला सडक योजना कार्यालयले नावाखोलामा पानीको वहाव घटे तत्कालै अस्थायी डाइभर्सन बनाएर पाँचथरको गणेशचौक सम्म यातायात सुरु गर्ने योजना बनाएको बताएको छ ।

सडक योजना कार्यालयका प्रमुख प्रदीप निरौलाले नावाखोलामा अस्थायी डाइभर्सनका लागि ह्युमपाइप आइसकेको र खोलामा पानीको बहाव घट्नासाथ डाइभर्सन बनाउने काम हुने बताउनुभयो ।‘मुख्य समस्या भनेकै नावाखोलामा हो,हामी तमोर करिडोरमार्फत गणेशचौक सम्म ठूला सवारी समेत चल्नेगरी योजना अघि बढाइरहेका छौं’पाँचथरको फिदिममा भेटिनुभएका निरौलाले भन्नुभयो । उहाँले नावाखोलामा पानीको सतह घट्नासाथ अस्थायी डाइभर्सन निर्माण कार्य थाल्न सबै तयारी गरिएको बताउनुभयो । त्यसका लागि सडक योजना कार्यालयले निर्माण उपकरण समेत तयारी हालतमा राखेको निरौलाले जानकारी दिनुभयो ।

पाँचथरको जोरसाल हुँदै फिदिम नगरपालिका वडा नं ४ माझीटार निस्कने बाटोमा भने हेंवाखोला नजिक बाढीले सडक मार्ग नै बगाएका कारण त्यो सडकमार्ग अबरुद्ध छ । पाँचथरको गणेशचौक नजिक सम्म सवारी आइपुग्दा ताप्लेजुङतर्फ जान–आउनका लागि भने खास समस्या छैन । पाँचथरको हेंवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि मेची रागमार्ग अन्र्तगत ताप्लेजुङ–पाँचथर सडक खण्डमा भने सवारी यातायातको आउजाउ रोकिएको छ । मेची राजमार्गको रमिते भन्ने स्थानमा खसेको पहिरो पन्छाएर बुधवार अपरान्ह देखि एकतर्फी यातायात सुरु गरिएको छ । थप पहिरो नखसे अब मेची राजमार्ग हुँदै झापाको बिर्तामोडबाट पाँचथरको फिदिम सम्म साना सवारीको आउजाउ हुनसक्ने भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । पूर्ण रुपमा सडक सञ्चालनमा आउन भने केहि समय लाग्ने देखिएको भट्टराईले बताउनुभयो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोईरालाले रमितेमा खसेको पहिरो पन्छाएर साना सवारीको एकतर्फी यातायात सुरु भएपनि सो मार्ग हुँदै ठूला सवारी भने तत्काल सञ्चालनमा आउन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले हेंवाखोलाका लागि भने यातायातका लागि तीन चरणका विकल्प अपनाएर योजना अघि बढाइएको जानकारी दिनुभयो । उहाँले हेंवाखोलामा फड्के लगाएर मानिस र मोटरसाइकल वारपार गराउने योजना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अहिले त्यहाँ पाँचथरस्थित नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा बाँसको फड्के लगाउने कार्य भइरहेको छ ।

कार्यस्थलमा भेटिनु भएका नेपाली सेनाको फिदिमस्थित रणशेर गणका सेनानी बिमल राउतले बिहीबार अपरान्हबाट फड्केमार्फत वारपार गर्न सकिने गरी कार्य अघि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार ४ फिट चौडाई र ५३ मिटर लम्बाईको फड्के पुल बनिरहेको छ । फड्के पुल सञ्चालनमा आए ताप्लेजुङतर्फ आउने यात्रुले फड्के तरेर हेंवाखोला वारी रहेका यातायात साधानमार्फत ताप्लेजुङर्फ आउन सक्ने छन् ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी कोइरालाले भने दोस्रो विकल्प भनेको हेंवाखोलामा अस्थायी डाइभर्सन निर्माण हो । पानीको सतह घटेपछि मात्र त्यो कार्य सुरु हुने देखिएको छ ।‘त्यसपद्धि बेलिब्रिज निर्माणको प्रकृयाका बारेमा योजना अघि बडाउने गरी सडक कार्यालयसंग समन्वय भइरहेको छ’कोइरालाले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts