कार्य सम्पादनका आधारमा ताप्लेजुङका स्वास्थ्य शाखाहरुमा फुङलिङ पहिलो,आठराई त्रिवेणी दोस्रो हुँदा मेरिङदेन तेस्रो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ९ । ताप्लेजुङका स्थानीय तहमा रहेका ९ वटा स्वास्थ्य शाखाहरुमध्ये आर्थिक बर्ष २०८०।८१ को कार्य सम्पादन सूचकका आधारमा फुङलिङ नगरपालिकाको स्वास्थ्य शाखा पहिलो भएको छ ।

आठराई त्रिबेणी गाउँपालिकाको स्वास्थ्य शाखा दोस्रो हुँदा मेरिङदेन गाउँपालिकाको स्वास्थ्य शाखा तेस्रो भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिए । जिल्लागत बार्षिक समिक्षामा प्रस्तुती गर्न चुकेका सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका स्वास्थ्य संस्था अंक तालिकाको पुछारमा रहे । बाँकी मैवाखोला गाउँपालिका,मिक्वाखोला गाउँपालिका,फक्ताङ्लुङ गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिका मध्यम श्रेणीमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले यहाँका ९वटै स्वास्थ्य शाखा,जिल्ला अस्पताल,जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र र सुनौलो परिवार नेपालकातर्फबाट आव २०८०।८१ को प्रगति समिक्षा राखेको थियो । प्रगति समिक्षामा सिदिङ्वा गाउँपालिका प्रस्तुतिमा अनुपस्थित भयो भने सिरिजङ्गाका स्वास्थ्य शाखा प्रमुख सञ्जिव सिंहको अस्वस्थताको कारण प्रस्तुति हुन सकेन ।

पहिलो भएको फुङलिङ नगरपालिकाको स्वास्थ्य शाखाले कूल सय पूर्णाङ्कमा ८२.१ अंक प्राप्त गरेको छ । दोस्रो भएको आठराई त्रिबेणी गाउँपालिकाको स्वास्थ्य शाखाले ८० अंक प्राप्त गर्दा तेस्रो भएको मेरिङ्देन गाउँपालिकाको स्वास्थ्य शाखाले ७८.४ अंक प्राप्त गरेको अंक मापनमा संलग्नमध्येका स्वास्थ्य निर्देशनालय धनकुटाका तथ्याङक अधिकृत मुकुन्द दाहालले जानकारी दिनुभयो । प्रथम,द्धितीय र तृतीय हुनेलाई स्वास्थ्य कार्यालयले कदरपत्र समेत प्रदान गरेको छ । कार्यक्रमतर्फका २८ सूचकमा ७० अंक र न्यूनतम् मापदण्डतर्फको प्रगतिका लागि ३० अंक निर्धारण भएको थियो । नियमित प्रतिबेदन,खोप कार्यक्रम,वाल उपचार कार्यक्रम,पोषण कार्यक्रम र सुरक्षित मातृत्व कार्यक्रमको नतिजा मापन गरिएको थियो । यस्तै परिवार नियोजन कार्यक्रम,क्षयरोग कार्यक्रम,बहिरंग सेवा,महिला स्वास्थ्य स्वयंसेविकामार्फतको प्रगति,गाउँघर क्लिनिकको प्रगति र औषधि व्यवस्थापनतर्फको प्रगतिका सूचकको अंकभार ७० थियो ।

न्यूनतम् सेवातर्फ स्वास्थ्य शाखाकोतर्फबाट भएका नवीन प्रयास,प्रगति विवरण प्रस्तुतिकरणको पूर्णता,प्रस्तुतिकरण र त्यसको सवाल जवाफशैली,दुर्गमता,स्थानीय तहका स्वास्थ्य शाखाहरुबाट सरोकारवाला निकायसंगको नियमित समन्वय,सम्वन्धित स्वास्थ्य संस्थाहरुका लागि स्थानीय तहबाट बिनियोजन भएको बजेट र स्वास्थ्य शाखा प्रमुख र प्रतिनिधिको जिल्लागत कार्यक्रममा उपस्थिति र पालिकाको कार्यक्रममा जिल्लामा रहेको स्वास्थ्य कार्यालयलाई गरिएको आमन्त्रण सहितलाई नतिजाको आधार बनाईएको थियो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य प्रशासक योगराज घिमिरे,स्वास्थ्य तालिम केन्द्र धनकुटाका जनस्वास्थ्य प्रशासक बृजकुमार दास,ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर ओमप्रकाश थापा मगर,जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर गम्भिर झा,स्वास्थ्य निर्देशनालय धनकुटाका तथ्याङ अधिकृत दाहाल र अधिकृत (छैटौं)सुरेन्द्र बजिमय सहितले न्यूनतम् सेवा प्रवाह र तथ्याङ्क प्रबिष्टीका बारेमा अवगत गराउनु भएको थियो । कार्य सम्पादनका आधारमा ताप्लेजुङका स्थानीय तहमा रहेका स्वास्थ्य शाखाहरुको उत्कृष्टता मापन ताप्लेजुङमा पहिलो पटक गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले मंगलवार र बुधवार जिल्लागत समिक्षा कार्यक्रम राखेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts