स्नातक तह पढाई हुनेगरी मैवाखोलाद्धारा सम्बन्धनको प्रकृया आरम्भ,सम्बन्धन लिने जिम्मेवारी नारायणी माविलाई
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका भित्रै स्नातक तह अध्यापन गराउने गरी सम्वन्धनको प्रकृया अघि बढाएको छ ।
पूर्वाञ्चल विश्व बिद्यालयबाट सम्वन्धन लिएर पालिकाको केन्द्रमा रहेको नारायणी मावि साँघुमा स्नातक तह अध्यापन गराउने गरी प्रकृया अघि बढेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । वनेमका अनुसार नारायणी माविले सम्वन्धनका लागि आवश्यक प्रकृया चालिरहेको छ । पालिकाकोतर्फबाट गर्नुपर्ने सहयोग र प्रतिबद्धताप्रति पालिका सरकार सकारात्मक रहेकोले सम्वन्धन प्राप्त हुनेमा आशावादी रहेको उहाँले बताउनुभयो । मैवाखोलामा ५ वटा माध्यमिक बिद्यालय रहेका छन् । वाल विकास समेत सञ्चालन भएका समेत गरी पालिका भित्र २८ वटा बिद्यालय रहेको मैवाखोलाले जनाएको छ । तत्कालका लागि शिक्षा र मानविकी संकायको कक्षा सञ्चालन गर्नेगरी सम्वन्धनको प्रकृया अघि बढेको छ ।
ताप्लेजुङमा अहिले सदरमुकाम फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा स्नताकोत्तर तथा सिरिजङ्गा गाउँपालिकास्थित सिनाम माविमा शिक्षा र व्यवस्थापन संकायमा स्नातक तहसम्मको पढाई हुने गरेको छ । मैवाखोलाले संघीय सर्शत अनुदान रकमबाट नारायणी मावि भन्दा केहि तल नमूना शिक्षालय केन्द्र निर्माण गरिरहेको छ । सोहि शिक्षालयमा स्नातक तह पढाई हुनेगरी योजना अघि बढेको पालिकाले जनाएको छ । दुईतल्ले आठकोठे भवन अघिल्लो र यो बर्षको संघीय सर्शत अनुदान रकमबाट निर्माण भइरहेको हो । भवन निर्माण प्रकृया अन्तिम चरणमा पुगेको समेत पालिकाले जनाएको छ ।
मैवाखोला मावि पनि ‘नमूना बिद्यालय’
मैवाखोलाले संघीय योजना जस्तै पालिकाको योजनामार्फत ढुङ्गेसाँघुमा रहेको मैवाखोला माध्यमिक बिद्यालयलाइ नमूना माविको रुपमा विकास गर्न थालेको छ । संघीय सरकारमार्फत नारायणी मावि साँघुलाई नमूना बिद्यालयको रुपमा अघि सारिएको छ । पालिकामा रहेका माविहरुलाई प्राथमिकतामा आधारमा क्रमशःनमूना बिद्यालयको रुपमा अघि बढाउने योजना अनुरुप पहिलो चरणमा मैवाखोला मावि तेम्बे छनौट गरिएको पालिका अध्यक्ष वनेमले बताउनुभयो ।
नमूनाको रुपमा विकास गर्न प्राथमिकतामा परेको बिद्यालयमा आवश्यक पूर्वाधार गुरुयोजना बनाई सोहि अनुसार कार्यान्वयन गर्ने,खेलमैदान सहितका पूर्वाधार विकास गर्ने,शिक्षक तथा बिद्यार्थी आवास कक्ष निर्माण गर्ने,बिद्यालयमा गुणस्तरीय सिकाई प्रवद्र्धन कार्यक्रम लागु गर्ने जस्ता योजना कार्यान्वयन गरिने पालिकाले जनाएको छ ।