आठराई त्रिबेणीका मुटु रोगी बालिकाको उपचारमा सघाउन दक्षिण कोरिया पुगेका युवाले पठाए २ लाख बढी रकम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २७ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारी निवासी प्रेमकुमार श्रेष्ठका मुटुरोगी छोरीको उपचारका लागि ताप्लेजुङबाट दक्षिण कोरिया पुगेकाहरुको अगुवाईमा दुई लाख रुपैयाँ बढी रकम संकलन गरी पठाइएको छ ।

आर्थिक अवस्था कमजोर भएका श्रेष्ठ परिवारका उपचाररत छोरीको सहयोगका लागि ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको संयोजनमा भदौ १ देखि २५ गते सम्म सञ्चालन भएको संकलन अभियानमा २ लाख ४ हजार ५ सय ५ रुपैयाँ संकलन भएको थियो । संकलित रकम परिवारलाई हस्तान्तरण गरिएको छ । बैदेशिक रोजगारीको सिलसिलामा ताप्लेजुङबाट दक्षिण कोरिया पुगेका अर्जुन सेन्दाङ,किशोर दर्नाल,पुष्कर न्यौपाने सहितको अगुवाई तथा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरणमा उक्त रकम संकलन भएको हो । यो रकम संकलन तथा आर्थिक सहयोग हस्तान्तरणका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौं तथा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका संस्थापक अध्यक्ष रमेश न्यौपानेले सहजीकरण गर्नु भएको हो ।

प्रतिनिधिसभा सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले समेत यसअघि आफ्नो जन्मदिनमा यही भदौ २१ गते श्रेष्ठ परिवारलाई आर्थिक सहयोग गर्नुका साथै उपचारमा सहजीकरण गरिरहनु भएको छ । मुटुमा प्वाल परेका श्रेष्ठका दुईछोरी मध्ये ठूली छोरीको उपचारको क्रममा निधन भईसकेको छ भने सानीछोरीको शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts