तिम्बुङ पोखरी ट्रेल रनको उपाधि पाँचथरका विशाललाई

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २६ । बुधवार सम्पन्न प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथरको फिदिम १४–का विशाल राई प्रथम हुनु भएको छ । यस्तै भारत पश्चिम सिक्किमका पिङ्सो नाम्ग्याल भोटिया दोस्रो र सिदिङ्वा गाउँपालिका–१ का भरत बानियाँ तेस्रो हुनु भएको छ ।
तिम्बुङ पोखरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तिम्बुङ पोखरी ट्रेल रनमा तीनजना महिला सहित ३० जना सहभागी थिए । ४ हजार ३ सय ५० मिटर हाराहारीको उचाइमा पर्ने तिम्बुङ पोखरीबाट ७.८ किलोमिटरको दुरीमा पर्ने पाङ्दुवा सम्म दौड भएको थियो । प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमस ३० हजार २० हजार र १० हजार रुपैयाँ सहित नगद र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै महिला सहभागी ३ जना मध्ये निर्धारित दुरी सबै भन्दा पहिला पार गर्ने फाल्गुनन्द ५ पाँचथरकी निक्की नेम्बाङलाई समेत नगद १० हजार सहित सम्मान गरिएको छ ।
बिजेता तथा सहभागीहरुलाई सिदिङ्वा गाउँपालिका उपाध्यक्ष बन्दना कडरिया,जिल्ला खेलकुद विकास अध्यक्ष गणेश मावो,सिदिङ्वा गाउँपालिका वडा नं १ का अध्यक्ष गोपाल बानियाँ,आयोजक समितिका सल्लाहकार कैलाश राई लगायतले पुरस्कार वितरण गर्नु भएको छ आयोजक तिम्बुङ पोखरी संरक्षण तथा संवद्र्धन समितिका अमिर राईलाई उधृत गर्दै पत्रकार सन्तोष पुर्कुटीले जानकारी दिनु भएको छ ।