भदौ २६ गते हुने ‘तिम्बुङ पोखरी ट्रेल रन’को तयारी पूरा,केञ्जोको राजधानी पुग्ने सु–अवसर

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २० । समुद्र सतहबाट चार हजार तीनसय मिटर उचाईमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा हुने ‘तिम्बुङ पोखरी ट्रेल रन’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

भदौ २६ गते हुने रनको तयारी अवस्था बारे पत्रकार सम्मेलनमार्फत जानकारी दिदैं आयोजक तिम्बुङ पोखरी संरक्षण तथा सम्वद्र्धन समितिले रनका लागि आवश्यक तयारी लगभग सकिएको बताएको हो । समितिका सल्लाहकार कैलाश राई(प्रकाश)ले प्रतियोगिताको आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार तिम्बुङ पोखरीबाट ओरालोतर्फ करिव ८ किलोमिटर(७.८ किमी) दुरीमा दौड हुने छ । दौडका लागि सहभागीले नाम दर्ता सुरु गरिसकेको र ११ जनाले नाम दर्ता गरिसकेको राईले जानकारी दिनुभयो । रनका बिजेताले नगद ३० हजार,उपबिजेताले नगद २० हजार र तृतीय हुनेले नगद १० हजार पुरस्कार पाउने भएका छन् ।

उचाईको क्षेत्र तिम्बुङ पोखरीमा पहिलोपटक उक्त प्रतियोगिता हुन लागेको हो । छिमेकी जिल्ला पाँचथर तथा छिमेकी देश भारतसंगको सीमावर्ती क्षेत्रमा रहेको तिम्बुङ पोखरीलाई केञ्जो अर्थात् पदमचालको राजधानीको रुपमा समेत लिने गरिन्छ । दर्जनौं पोखरीहरुको बासस्थान रहेको क्षेत्रको रुपमा परिचित तिम्बुङ पोखरीलाई जडिबुटी केन्द्र समेत मान्ने गरिएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका र स्थानीय बासिन्दाहरुको प्रयासमा तिम्बुङ पोखरी क्षेत्रको पर्यापर्यटन प्रवद्र्धनका लागि ‘तिम्बुङ पोखरी ट्रेल रन’को आयोजना गरिएको समितिका सल्लाहकार मदन खरेलले दिनुभयो ।

तिम्बुङ पोखरीको भ्रमण तथा दर्शनका लागि अहिलेको समय निकै उपयुक्त मानिन्छ । आफैंले टेन्ट बोकेर रुचाएको ठाउँमा बस्न मिल्ने,होम स्टे र गोठ सहितका स्थानमा समेत बास र खाना पाउन कठिन नहुने तिम्बुङ पोखरी क्षेत्रको भ्रमण तथा अवलोकनमा जानेहरुका लागि आयोजकले आवास व्यवस्थापनको तयारी समेत गरेको जनाएको छ । ढङढङ्गे झरना,फाँटिला क्षेत्र,सुगन्धित जडिवुटी,भेडाका बथान र चौंरीका गोठ समेतको दृश्यावलोकनले तिम्बुङ पोखरी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाईको केन्द्र बन्ने गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts