फुङलिङ नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा कञ्चनजङ्घाकी भट्टराई प्रथम

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १९ । नेपाल रेडक्रस सोसाईटीको ६२ औं स्थापना दिवसको अवसरमा ताप्लेजुङको फुङलिङ नगरपालिका स्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिताका कञ्चनजंघा बोर्डिङ स्कुलकी अञ्जना भट्टराई प्रथम हुनु भएको छ ।

लिटलबुद्ध बोर्डिङ स्कुलका सौभाग्य लिम्बू दोस्रो हुँदा युवाबर्ष मावि कैंजलेका सुमन विक तेस्रो हुनभयो । मेची सेन्टमेरिज बोर्डिङ स्कुलकी एशिका दाहाल सान्त्वना हुनुभयो । प्रथम हुने भट्टराईले नगद ५ हजार,द्धितीय हुने लिम्बूले ३ हजार,तृतीय हुने विकले २ हजार र सान्त्वना हुने दाहालले नगद एकहजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा सिद्धकाली मावि दोखुका साजन तामाङ,वासुमावि मेदिवुङका गस्तिहाङ पालुङ्वा,अक्सफोर्ड मोडल बोर्डिङ स्कुलका आश्रेया सिग्देल र नवज्योति कञ्चन एकेडेमीका आखिम लिम्बू गरी ८ जना सहभागी हुनुहुन्थ्यो । सहभागी सबैलाई नगद ५ सय रुपैयाँको दरले प्रोत्साहन रकम दिईएको आयोजक लिटलबुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले जानकारी दिनुभयो ।

‘विपद्मा रेडक्रस’शीर्षकमा भएको वक्तृत्वकला कार्यक्रमका बिजेता तथा सहभागीलाई जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्य,दुर्गादल गुल्मका गुल्मपति बिक्रम खड्का,जिल्ला प्रहरी प्रमुख रबि रावल,सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश मर्हजन,शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराई,रेडक्रसका जिल्ला सभापति इन्द्रबहादुर गुरुङ,प्याब्सनका जिल्ला अध्यक्ष गणेश सिग्देल सहितले पुरस्कार तथा प्रमाण–पत्र बितरण गर्नु भएको थियो । कार्यक्रमको आर्थिक सहयोग जिल्ला रेडक्रस सोसाईटले गरेको जिल्ला शाखाका कोषाध्यक्ष दिनेश अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शेर्पा,जिल्ला रेडक्रसका मन्त्री विकास गौतम,बासु मावि मेदिवुङका प्रधानाध्यापक युवराज बस्नेत,नगर शिक्षा समितिका सदस्य समेत रहनु भएका प्याब्सन ताप्लेजुङका पूर्व अध्यक्ष इन्द्रकुमार गुरुङ,पूर्व प्राज्ञ तथा संगितकार माधव प्रधान,जिल्ला प्याब्सनका सचिव तरुण भारती सहित रेडक्रसका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लिटलबुद्ध बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष कीर्तिमान मादेनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts