‘दोहोरो सवारी कर’ खारेजी र बाटो मर्मतको माग गर्दै सिरिजङ्गाका यातायात व्यवसायीद्धारा यातायात बन्द आवह्वान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १६ । स्थानीय हाइड्रोपावरले सडक मर्मतका लागि गरेको वेवास्ता र ‘दोहोरो सवारी कर’ असुलीको मारमा परेको कारण देखाउँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका यातायात व्यवसायीले उक्त समस्या समाधान नभए सम्म सवारी साधन नचलाउने घोषणा गरेका छन् ।

सिरिजङ्गा गाउँपालिकाका यातायात व्यवसायीहरुको भेलाले गरेको उक्त निर्णय गाउँपालिका समेतलाई जानकारी गराई कार्यान्वयनमा लगिएको स्थानीय व्यवसायी बिशाल भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार यो बारेमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई समेत बोधार्थ दिईएको छ । दोहारो कर असुलीमा तत्काल रोक लगाउन माग गर्दै यातायात व्यवसायीले आइतवार सिरिजङ्गा गाउँपालिकामा ज्ञापनपत्र समेत बुझाएको जनाएका छन् । ‘हामीले दोहोरो कर सहितका समस्या समाधानका लागि पालिकाको ध्यानाकर्षण गरेका हौं ’यातायात व्यवसायी भट्टराईले भन्नुभयो ।

उहाँका अनुसार सिरिजङ्गा गाउँपालिकाको सिनाम पञ्चमी,डाँडाँगाउँ,खाम्दिने,तेल्लोक हुँदै मामाङ्खे सम्म र खाम्दिने देखि हप्पुखोला,बाँकेटार हँुदै याम्फुदिन सम्म जाने सडक खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सिरिजङ्गा गाउँपालिकाका बिभिन्न स्थानमा सञ्चालित हाइड्रोपावर कम्पनीले सामान ढुवानीका क्रममा उल्लेखित सडक खण्ड बिगारेकोले उक्त सडकमा यात्रुवाहक,मालवाहक र एम्बुलेन्स समेत आवतजावत हुन कठिनाई भइरहेको यातायात व्यवसायीहरुको तर्क छ । हाईड्रोपावर कम्पनीका ठूला र वजनदार सवारीको ओहोरदोहोरले बाटो बिग्रिएका कारण बाटो बनाउने दायित्व हाईड्रोपावरकै रहेको व्यवसायीहरुले बताएका छन् ।

व्यवसायी भट्टराईले सिरिजङ्गा गाउँपालिकाको सिनाम पञ्चमीमा रहेको सवारी कर असुली केन्द्रमार्फत एउटै सवारीले आउँदा र जाँदा दोहोरो कर तिर्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । यसका बारेमा आफुहरुलाई पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूलाई कार्यकक्षमै गई ज्ञापन पत्र दिएको भट्टराई सुनाउनुभयो । कच्ची सडक र अनेकन् हैरानी खेपेर आफुहरुले यातायात सेवा दिईरहेको अवस्थामा दोहोरो करले व्यवसायी मारमा पर्ने भएकोले त्यसबिरुद्ध समेत आफुहरु आन्दोलनमा जानु परेको यातायात व्यवसायीहरुले बताएका छन् । सिरिजङ्गा गाउँपालिकाका २० जना यातायात व्यवसायीहरुको संयुक्त भेलाले दोहोरो कर खारेजी र हाईड्रोपावर कम्पनीमार्फत बाटो मर्मतसम्भारको माग गर्दै यातायात बन्द सहितका आन्दोलनका कार्यक्रम तय भएको सिरिजङ्गाका यातायात व्यवसायीहरुको भनाई रहेको छ ।

ठूलो खाल्टाखुल्टीका कारण अगाडि जान नसकी सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोक भन्दा वरै अड्किएका सवारी ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts