दोस्रो ताप्लेजुङ गोल्डकपमा २३ गोल,पहिलो खेलमा १२ गोल,बाँकी ६ खेलमा ११ गोल !

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ११ । भदौ ३ गते देखि १० गते सम्म ताप्लेजुङमा सञ्चालन भएको दोस्रो ताप्लेजुङ गोल्डकपको गोल संख्यामा यसपटक नयाँ रेकर्ड स्थापित भएको छ ।

जम्मा ७ खेल भएको गोल्डकपको फाइनल सम्ममा २३ गोल भए । त्यसमध्ये १२ गोल पहिलो दिनको खेलमा भयो भने बाँकी ६ खेलमा ११ गोल मात्र भयो । पहिलो खेलमा भिडेका थिए गृहटीम संघर्ष स्र्पोटिङ क्लव फुङलिङ र पाहुना टोली भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लव । खेल संघर्षले ७–५ ले जित्दा अनुप सेन्दाङ,सविन तामाङ र मञ्जित एङदेनले समान २–२ र दीपेश लिम्बूले १ गोल गर्नुभयो । भारत सिलगुढीका जाङपो भोटियाले ३ र प्रनेस प्रधानले दुईगोल गर्नु भएको थियो । व्यवस्थित अभिलेख नै नभएपनि लाखेजात्राको अवसरमा हुने खेलकुद प्रतियोगितामा भानुजन माविको मैदानमा एकैखेलमा यतिधेरै गोलको बर्षा भएको सम्भवत यो नै पहिलो हुनसक्ने छ ।

एकै खेलमा ३ गोल गर्नु भएका जाङ्पो उच्चगोलकर्ता बन्नुभयो । अर्को संयोग के भने उहाँले ३ वटै गोल पेनाल्टीमार्फत गर्नु भएको थियो । संघर्षका कप्तान अनुप सेन्दाङले समान ३ गोल गरेपनि एकैखेलमा तीनगोल गर्नु भएका जाङ्पो उच्च गोलकर्ताको सूचीमा पर्नुभयो । दोस्रो खेल मधेस प्रदेशको सलहेश फुटबल क्लव र पहाडको पाँचथर वाइवाइ फुटबल क्लव बीच भएको थियो । १–० को नतिजामा सलहेशले पाँचथरलाई मैदान बाहिर पठाउँदा जय गुरुङले निर्णायक गोल गर्नु भएको थियो ।

तेस्रो खेलमा रुपन्देहीको बुटवल लुम्बिनी एफसी र मोरङको सगरमाथा यूथ क्लव भीडेका थिए । नेपाल सुपर लिगको फ्रेन्चाईजी बुटवल लुम्बिनीलाई १–० को अनपेक्षित हार चखाएर क्वाटर फाइनलमै रोक्दा सगरमाथाका लागि सुशिल राईले गोल गर्नु भएको थियो । अन्तिम क्वाटर फाईनलको चौथो खेलको प्रतिश्पर्धामा नेपालकै सशक्त विभागीय टोली त्रिुभवन आर्मी बिरुद्ध बिर्तामोड युनाईटेड फुटबल क्लव झापा मैदानमा थियो । नेपाली राष्ट्रिय टोलीमा रहेर खेल खेलिसकेका र खेलिरहेका खेलाडीले भरिएको आर्मीलाई ३–० को नतिजामा स्तब्ध पार्दै बिर्तामोड अन्तिम चारमा पुग्दा अभिषेक गुरुङ,हिसुव थपलिया र देवेन्द्र तामाङले गोल गर्नु भएको थियो । तामाङ र थपलिया नेपाली राष्ट्रिय फुटबल टीममा रहेर खेलिसकेका खेलाडी हुनुहुन्छ ।

गोल्डकपको पाँचौं खेल पहिलो सेमीफाइनल थियो । फाईनल यात्राका लागि मोरङको सगरमाथा यूथ क्लव र गृहटीम संघर्ष स्र्पोटिङ क्लव भिडेका थिए । खेल मोरङले २–१ ले आफ्नो पक्षमा पार्दा मिलन राई एक्लैले टीमका लागि दुबैगोल गर्नु भएको थियो । यो खेलमा संघर्षका कप्तान अनुप सेन्दाङले १ गोल गर्नुभयो ।

दोस्रो सेमीफाईनल खेल झापाको बिर्तामोड युनाईटेड र सिराहाको सलहेश फुटबल क्लवबिच भएको थियो । टाइब्रेक्ररबाट टुङ्गिएको खेलको निर्धारित ९० र १५ मिनेटको इञ्जुरी समयमा दुबै टिमबाट १–१ को बराबरी गोल भएको थियो । टाइब्रेक्ररमा सलहेश भाग्मानी बन्दा उसले बिर्तामोडलाई ४–२ ले पाखा लगाएको थियो ।

निर्धारित र इञ्जुरी समयमा भएको खेलमा सलहेशका लागि जोन ग्लोरीले १ गोल गर्नुभयो भने बिर्तामोडले १ गोल आत्घाति उपहार पाएको थियो । सलहेशका खेलाडी सेवेएले पेनाल्टी एरियामा हेड फ्लिक गर्दा भूलवस आफ्नै पोष्टमा गोल लाग्न पुगेको थियो । उपाधि भीडन्त गरेका सगरमाथा यूथ क्लव मोरङ र सलहेश फुटबल क्लव सिराहाबिचको खेल १–० को नतिजामै सकियो । बिजय भुजेलले गरेको गोल नै मोरङलाई उपाधि उचाल्न पर्याप्त बन्यो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts