|

खेजेनिमका पहिरो पीडितलाई पुतलीको सहयोग

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ९ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका पहिरो पीडितलाई पुतली सहयोग योजना काठमाडौं सहयोग गरेको छ । उक्त संस्थाले खेजेनिमका पहिरो पीडित सात परिवार र पहिरो प्रभावित बालबालिकालाई सहयोग गरेको हो ।
खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईका अनुसार पुतली सहयोग योजनाले पहिरो पीडित परिवारलाई खाद्यान्न र कपडा सहयोग उपलब्ध गराएको छ । खाद्यान्नअन्तर्गत पहिरो प्रभावित सात परिवारलाई प्रतिपरिवार ६० किलोग्रामका दर चामल, दाल, मैदा, चिनी १० किलोग्रामको दर, नुन पाँच किलोग्राम, खानेतेल तीन लिटर र एक कार्टुनका दरले चाउचाउ उपलब्ध गराइएको छ ।
यस्तै सात परिवारका ५० जनालाई लगाउने कपडा (जाकेट) संस्थाले उपलब्ध गराएको वडाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार सिवु आधारभूत विद्यालयमा अध्ययनरत पहिरो प्रभावित ६० जना बालबालिकालाई शैक्षिक सामग्रीसमेत सो संस्थाले वितरण गरेको छ । बालबालिकालाई ट्रेक सुट, कापी र डटपेनजस्ता शैक्षिक सामग्री उपलब्ध गराएको बताइएको छ ।
यसैगरी संस्थाले सिवु आवि र खेजेनिम माध्यमिक विद्यालयलाई भलिबल, फुटबलजस्ता खेल सामग्रीसमेत उपलब्ध गराएको खेजेनिम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार पतङ्वाले जानकारी दिनुभयो । पीडित परिवारलाई फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति), संस्थाका संयोजक (कोर्डिनेटर) दावा इलावा लगायतले सहयोग सामग्री वितरण गर्नुभएको हो ।
गत जेठ ३१ गते भीषण वर्षासँगै गएको पहिरोले घर बगाउँदा खेजेनिममा एक परिवारका चारजनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा खेजेनिम निवासी गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूको बाबु, आमा र दुईजना बहिनी रहनुभएको छ । सो समयमा पहिरोका कारण अर्को एक परिवारका बाबु–छोरी घाइते भएका थिए । यता शनिबार राति पनि भीषण वर्षासँगै पहिरो जाँदा खेजेनिमको मिक्खोक याक्पा टोलमा एक घरमा क्षति पु¥याएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts