शनिबार तीन लाख ४४ हजार रुपैयाँको टिकट बिक्री
-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ८ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिामा शनिबार टिकट बिक्रीबाट तीन लाख ४४ हजार रुपैयाँ रकम संकलन भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगिताको अन्तिम अर्थात सेमीफाइनल खेलमा दर्शकलाई टिकट बिक्री गरेर उक्त रकम संकलन भएको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शनिबार भएको खेल एक हजार ७२० जनाले अवलोकन गरेको अर्थात हेरेका थिए । खेल हेर्ने दर्शकका लागि प्रतिव्यक्ति २०० रुपैयाँका दरले टिकट बिक्री गरेर तीन लाख ४४ हजार रुपैयाँ संकलन भएको श्रेष्ठले जानकारी दिनुभयो ।
शनिबार बिर्तामोड युनाइटेड फुटबल क्लब झापा र सलहेश युवा क्लब सिराहाबिच प्रतियोगिताको अन्तिम सेमीफाइनल खेल भएको थियो । शुक्रबार भएको पहिलो सेमीफाइनलमा तीन लाख आठ हजार ८०० रुपैयाँको टिकट बिक्री भएको आयोजकले जनाएको छ । यसअघि क्वार्टरफाइनल चरणको खेलका लागि टिकट दर १०० रुपैयाँ थियो भने भदौ १० गते हुने फाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति २५० रुपैयाँ निर्धारण भएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।