|

ताप्लेजुङ गोल्डकप : सिराहा फाइनलमा प्रवेश

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ८ । बिर्तामोड युनाइटेड फुटबल क्लब झापालाई पराजित गर्दै सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा ४–२ को गोलअन्तरले बिर्तामोडलाई पराजित गर्दै सलहेश सिराहा फाइनलमा पुग्ने दोस्रो टोली बनेको हो ।
शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको समयावधिमा एक–एक गोल बराबरी खेलेका दुवै टोली थपिएको १५ मिनेटको अतिरिक्त समयमा गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । निर्धारित समयावधिको खेलमा भने खेल सुरु भएको १८ औं मिनेटमा सिराहाको तर्फबाट विदेशी खेलाडी ग्लोरी जोनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभएको थियो ।
सिराहाको अग्रतालाई खेलको उत्तरार्धको ५६ औं मिनेटमा झापाका सौरभ सुब्बाले गोल गर्दै बराबरीमा पु¥याउनुभएको थियो । त्यसपछिको समय र थप भएको अतिरिक्त समयमासमेत दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न असफल रहे । शनिबारको सेमीफाइनलमा जित निकालेको सिराहाले अब सोमबार हुने फाइनलमा सगरमाथा युथ क्लब मोरङसँग उपाधि भिडन्त हुने छ । यता शनिबार भएको खेलमा सलहेश युवा क्लबका गोलरक्षक प्रदीप भण्डारी सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।
यसवर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts