ताप्लेजुङ पर्यटन महोत्सवको खर्च विवरण सार्वजनिक,५० लाख खर्च,१ लाख ७५ हजार बचत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २१ । गत जेठ ३ देखि ७ गते सम्म ताप्लेजुङको फुङलिङमा सञ्चालित ताप्लेजुङ पर्यटन महोत्सवमा महोत्सव मूल आयोजक समितिमार्फत झण्डै ५० लाख रुपैयाँको कारोवार भएको छ ।

महोत्सव मूल आयोजक समितिले सोमवार पत्रकार सम्मेलनमार्फत मूल आयोजक समितिमार्फत भएको ४९ लाख २७ हजार ४ सय रुपैयाँ बराबरको खर्च विवरण सार्वजनिक गरेको हो । महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाका अनुसार यो खर्च मेयरकप पुरुष भलिबल प्रतियोगिता तथा औद्योगिक मेला प्रदर्शनी बाहेकको हो । लामाका अनुसार मेयर कप पुरुष भलिबल प्रतियोगिताको खर्च फुङलिङ नगरपालिका र औद्योगिक मेला प्रर्दशनीको खर्च नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले गरेका हुन् । मेयरकप भलिबलमा २० लाख रुपैयाँ खर्च भएको फुङलिङ नगरपालिकाले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजेन्द्र भारतीका अनुसार ताप्लेजुङ पर्यटन महोत्सवकै अवसरमा सञ्चालित औद्योगिक मेला प्रर्दशनी सहितका कार्यक्रममा ९ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ ।

महोत्सवकै अवधिमा कार्यक्रम समावेश भएपनि उक्त कार्यक्रम सम्वन्धित निकायमार्फत सञ्चालन र व्यवस्थापन भएकोले उक्त दुई कार्यक्रमको आम्दानी तथा खर्चको दायित्व क्रमशःफुङलिङ नगरपालिका र नेपाल घरेलु तथा साना उद्योग महासंघकै निहित रहेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव देवराज गुरुङले बताउनुभयो । सार्वजनिक भएको खर्च विवरण अनुसार पुरुष तथा महिला हाफ म्याराथनको पुरस्कार पुरस्कारमा मात्र ५ लाख ४६ हजार ६ सय ६७ रुपैयाँ खर्च भएको छ । यस्तै म्याराथन व्यवस्थापनतर्फ २ लाख ५० हजार २ सय ६८ रुपैयाँ खर्च भएको छ । परियोजना प्रस्ताव निमन्त्रणा,मायाको चिनो,प्रमाण–पत्र तयारी तथा छपाईमा २ लाख ७६ हजार ८ सय ८९ रुपैयाँ खर्च भएको छ ।

महोत्सवका लागि मञ्च व्यवस्थापन र साउन्ड सिस्टममा १० लाख १५ हजार ८ सय ७० रुपैयाँ खर्च भएको छ । यसैगरी साँस्कृतिक कार्यक्रमतर्फ कलाकार पारिश्रामिक,प्रस्तुती,यातायात र आवास खर्चवापत ५ लाख ७० हजार २ सय ४७ रुपैयाँ खर्च भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । स्टल व्यवस्थापन,खाद्य परिकार र कार्यक्रमस्थलको जग्गाभाडातर्फ २ लाख १८ हजार ९ सय ८५ रुपैयाँ र डिजाइन तथा फ्लेक्स प्रिन्टमा १ लाख ८४ हजार ६ सय ७६ रुपैयाँ खर्च भएको छ । साईकिलिङ व्यवस्थापनतर्फ १ लाख २६ हजार ४ सय ५० रुपैयाँ खर्च भएको छ । यस्तै स्वागतद्धार निर्माणमा १ लाख १५ हजार २ सय ६० रुपैयाँ र मठमन्दिर तथा माङ्हिममा पुजाका लागि १ लाख २ हजार ४ सय ४५ रुपैयाँ खर्च भएको छ । छायाङ्कन तथा फोटो प्रदर्शनीमा १ लाख ६ हजार खर्च भएको छ । अतिथि स्वागत–सत्कारतर्फ १ लाख ८२ हजार ९५ रुपैयाँ खर्च भएको छ । सुरुदेखि अन्त्यसम्मको अवधिको खाना,खाजा,चिया तथा छलफलमा १ लाख ५३ हजार ३ सय ५५ रुपैयाँ खर्च भएको छ ।

रेडियोमा मात्र विज्ञापन प्रसारण गरिएको उक्त प्रयोजनमा ९९ हजार ७ सय २० रुपैयाँ र यातायात व्यवस्थापनमा ८५ हजार ३ सय ३६ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । डोकोक्यारी रनतर्फ ७९ हजार २ सय ७५ रुपैयाँ खर्च भएको छ । अन्तर गाउँपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा ५७ हजार र झाँकी व्यवस्थापनमा ४५ हजार ५ सय रुपैयाँ खर्च भएको छ । यस्तै औद्योगिक तथा कृषि प्रदर्शनीमा ३९ हजार ९ सय रुपैयाँ र पर्यटकीय क्षेत्र भ्रमण तथा अवलोकनमा २७ हजार ९ सय रुपैयाँ खर्च भएको छ । स्वयंसेवक परिचालनतर्फ ४१ हजार ६ सय ७५ रुपैयाँ खर्च भएको छ । साहित्यकार्यक्रमतर्फ १८ हजार ५ सय ५० रुपैयाँ खर्च र चौरी प्रदर्शनीका क्रममा १० हजार खर्च भएको छ । सरसफाई व्यवस्थापनमा ७ हजार ४ सय २० रुपैयाँ र पुरस्कार व्यवस्थापनतर्फ ३ हजार २ सय ७५ रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।

महोत्सव सञ्चालनका लागि पाथीभरा क्षेत्र विकास समितिले १९ लाख ७० हजार अनुदान सहयोग उपलब्ध गराएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । यस्तै पाथीभरा केवलकार प्रालिले १० लाख,फुङलिङ नगरपालिकाबाट ६ लाख,स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडबाट ३ लाख,जिल्ला स्थित निर्माणाधिन हाइड्रोपावर कम्पनीबाट ५ लाख,सानिमा मध्य तमोर जलविद्युत योजनाबाट १ लाख,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्वद्र्धन समितिबाट १ लाख,मिक्वाखोला गाउँ कार्यपालिकाबाट १ लाख,ताप्लेजुङ भेनियर संघमार्फत ९० हजार,गोर्खा व्रुअरी प्रालिबाट ५० हजार,धावकहरुको प्रवेश शुल्कवापत ३२ हजार ५ सय र सिद्धार्थ बैंकमार्फत ८ हजार ५ सय रुपैयाँ प्राप्त भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

महोत्सव मूल आयोजक समितिले कर कार्यालय पाँचथरमा ७५ हजार रुपैयाँ धरौटी राखेको छ भने १ लाख रुपैयाँ बचत रहेको हो । लेखा परीक्षण,कर कार्यालयमा हुने थप कार्य र पत्रकार सम्मेलनमा भएको खाजा खर्च समेत यही १ लाख ७५ हजार रकमबाट स्रोत व्यहोरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत पर्यटन वोर्डबाट १५ लाख रुपैयाँ प्राप्त हुने भनिएपनि सो रकम नआएको समेत महोत्सव मूल आयोजक समितिले जनाएको छ । यसैबीच आगामी तीनबर्ष भित्र ताप्लेजुङमा दोस्रो ताप्लेजुङ पर्यटन महोत्सव सञ्चालन गर्ने सोच अनुसार सरोकारवालासंग प्रारम्भिक छलफल सुरु गरिएको समेत लामाले जानकारी दिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts