रीतपूर्वकको आबेदन नपर्दा आव २०८०।८१ मा ताप्लेजुङमा वन्यजन्तुबाट भएको क्षतिवापत राहत रकम दिईएन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २० । आर्थिक बर्ष २०७९।८० मा वन्यजन्तुबाट भएको क्षतिवापत ३ जनालाई राहत दिएको डिभिजन वन कार्यालय ताप्लेजुङले आव २०८०।८१ मा यस्तो प्रकृतिको राहत बितरण नभएको जनाएको छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङको योजना शाखाका वन अधिकृत(आठौं)परमेश्वर पासवानका अनुसार आव २०७९।८० मा मानवीय क्षति वापत एकजना मानिसका आफन्त र दुई पशुपालकलाई धनीलाई राहत रकम बितरण गरिएको थियो । आव २०८०।८१ मा भने वन्यजन्तुबाट भएको क्षतिवापत राहत बितरण नगरिएको पासवानले बताउनुभयो । उक्त आवका वन्यजन्तुबाट भएको क्षति सम्वन्धी राहत प्राप्तिका लागि एकजनाको निबेदन प्राप्त भएको थियो । तर,राहत प्राप्ति निर्देशिका विपरितको आबेदन प्राप्त भएकोले यो उक्त निबेदनको प्रकृया अघि बढेपनि राहत प्रदान गर्न भने नसकिएको पासवानले बताउनुभयो । पासवानका अनुसार वन्यजन्तुले आफ्ना पशुहरुमा क्षति गरेको भन्दै मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङका नुपु शेर्पाले डिभिजन वन कार्यालयमा राहत प्राप्तिका लागि निबेदन दिनु भएको थियो । ‘पशु क्षति सम्वन्धी घटनास्थल मुचुल्कामा प्रहरीको उपस्थिति थिएन,घटना विवरणमा वन्यजन्तुले गरेको क्षति चरण क्षेत्रमा रहेको उल्लेख थियो,पासवानले भन्नुभयो‘चरण क्षेत्रमा भएको क्षतिमा राहत वितरण गर्न नसकिने व्यवस्था छ’ ।

वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० को नं ३ मा वन्यजन्तुबाट भएको क्षतिको राहत उपलब्ध गराउने सम्वन्धी व्यवस्था उल्लेख छ । जस अनुसार वन्यजन्तु मानव बस्तिमा प्रवेश गरी गरेको आक्रमणबाट नेपाली नागरिकको मृत्यु भएमा,गम्भिर घाइते वा सामान्य घाइते भएमा राहत रकम दिन सकिने छ । यस्तै राष्ट्रिय निकुञ्ज वा आरक्ष बाहेक अन्य वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा वन्यजन्तुको आक्रमणमा परी नेपाली नागरिकको मृत्यु भएमा,गम्भिर घाइते वा सामान्य घाइते भएमा, राष्ट्रिय निकुञ्ज वा आरक्षमा सरकारी काममा खटिएका कर्मचारी,वन तथा वन्यजन्तुको संरक्षण र व्यवस्थापनको काममा अनुमति लिई खटिएका हेरालु तथा कामदार वा अनुमतिप्राप्त प्रकृति पथप्रदर्शकलाई वन्यजन्तुले आक्रमण गरी मृत्यु भएमा,गम्भिर घाइते वा सामान्य घाइते भएमा राहत रकम दिन सकिने छ ।

निर्देशिका अनुसार सरकारी काममा खटिएका कर्मचारीलाई राष्ट्रिय निकुञ्ज,आरक्ष,संरक्षण क्षेत्रको कार्यालय वा चिडियाखानामा पालिएका,उद्धार गरिएका वा उपचारका लागि राखिएका वन्यजन्तुले क्षति पु¥याएमा, राष्ट्रिय निकुञ्ज,आरक्ष बाहेक अन्य वन क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी घर पालुवा पशुको मृत्यु भएमा रीतपूर्वकको प्रकृया पूरा गरी आबेदन दिएमा राहत रकम बितरण गर्न सकिने छ । यस्तै निजी जमिनमा खनिएको पोखरीमा पालन गरेको माछा तथा खोरमा पालिएका कुखुरालाई वन्यजन्तुले क्षति पु¥याएमा,प्रयोगमा रहेको घरगोठमा वा घर गोठभित्र भण्डारण गरेको अन्नमा वन्यजन्तुले क्षति पु¥याएमा र निजी जमिनमा लगाएको वालीमा वन्यजन्तुले क्षति पु¥याएमा राहत रकम दिन सकिने व्यवस्था रहेको छ ।

वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा घाइतेको प्रकृति हेरि २० हजार रुपैयाँ सम्म,गम्भिर घाइतेको हकमा चिकित्सकको सिफारिस तथा औषधि उपचारमा लागेको बिल बमोजिम बढीमा २ लाख रुपैयाँ सम्म उपचार खर्च उपलब्ध गराउन सकिने व्यवस्था छ । यस्तै अंगभंग भई जीवनभर गम्भिर रुपले शारीरिक अशक्त हुने अवस्था भएमा त्यस्तो व्यक्ति वा निजको हकवालालाई जीविकोपार्जनका लागि एकमुष्ट ५ लाख रुपैयाँ सम्म र मृत्यु भएको हकमा मृतकको नजिकको हकवालालाई १० लाख रुपैयाँ सम्म राहत रकम उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।

निर्देशिका अनुसार पशु चौपायाको हकमा वन्यजन्तुको आक्रमणबाट भैंसी वा राँगो वा गोरु,उन्नत जातको गाई,घरपालुवा चौंरी,घोडा र खच्चडको मृत्यु भएमा मूल्याङ्कनको आधारमा प्रतिपशु ६० हजार रुपैयाँ सम्म,उल्लेखित बाहेक अन्य पशुको मृत्यु भएमा पशुको प्रकार र मूल्याङ्कनको आधारमा प्रतिपशु बढीमा १० हजार रुपैयाँ सम्म र माछा वा कुखुराको क्षति भएमा मूल्याङ्कनको आधारमा बर्षको एकपटक बढीमा १० हजार रुपैयाँ सम्म राहत रकम दिन सकिने व्यवस्था रहेको छ । यस्तै घरगोठको क्षति भएमा मूल्याङ्कनको आधारमा बढीमा २० हजार रुपैयाँ सम्म,अन्नको क्षति भएमा मूल्याङ्कनको आधारमा बढीमा १० हजार रुपैयाँ सम्म र बालीको क्षति भएमा मूल्याङ्कनको आधारमा एक मौसममा लगाएको बालीको एकपटक र बर्षमा दुईपटक नबढ्ने गरी बढीमा १० हजार रुपैयाँ सम्म राहत रकम दिन सकिने राहत रकम बितरण निर्देशिकामा उल्लेख छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts