ताप्लेजुङमा विपद्का घटनाको प्राथमिकीकरण,पहिलोमा बाढी पहिरो र दोस्रोमा आगलागीको जोखिम,प्रकोप पात्रो पनि तयार

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १९ । जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङमा हुने विपद्का घटनाको प्राथमिकीकरण गरी प्रकोप पात्रो तयार गरेको छ ।

चालू आर्थिक बर्षका लागि तयार भएको विपद् प्रतिकार्य योजना अनुसार बाढी र पहिरोलाई प्रकोपको पहिलो जोखिमयुक्त क्षेत्र पहिचान गरिएको छ भने आगलागीलाई दोस्रो स्थानमा राखिको छ । यस्तै चट्याङलाई तेस्रो,हावाहुरीलाई चौथो,खडेरीलाई पाँचौं,भूकम्पलाई छैटौं र असिनालाई सातौं र महामारीलाई आठौं स्थानमा राखिएको छ । प्रकोप पात्रो अनुसार बैशाख देखि साउन सम्मको अवधि बाढी, पहिरो र डुबानका लागि अति संकटासन्नता समयको रुपमा रहने अनुमान गरिएको छ । बाढी, पहिरो र डुबानका लागि भदौ,असोज र कात्तिक महिनालाई मध्यम र मंसिर देखि चैत सम्मको अवधिलाई न्यून संकटासन्नताको रुपमा उल्लेख गरिएको छ । यस्तै आगलागीका लागि चैत देखि साउन सम्मको अवधिलाई उच्च, मंसिर देखि फागुन सम्मको अवधिलाई मध्यम र भदौ देखि कात्तिक सम्मको अवधिलाई न्यून संकटासन्नताको रुपमा लिईएको छ ।

चट्याङका लागि भने फागुन देखि जेठ सम्मको अवधिलाई उच्च,असार देखि असोज सम्मको अवधिलाई मध्यम र कात्तिक देखि माघ सम्मको अवधिलाई न्यून संकटासन्नताको रुपमा लिईएको छ । हावाहुरीका लागि पुस देखि जेठ सम्मको अवधिलाई उच्च, कात्तिक–मंसिरलाई मध्यम र असार देखि असोज सम्मको अवधिलाई सामान्य जोखिम अवधिको रुपमा लिईएको छ । खडेरीका लागि माघ देखि बैशाख सम्मको अवधिलाई उच्च र साउन देखि पुस सम्मको अवधिलाई सामान्य जोखिम अवधिको रुपमा लिईएको छ । भूकम्पका लागि भने बाह्रै महिना उत्तिकै जोखिम रहने जिल्ला विपद् व्यवस्थापन समितिले प्रकोप पात्रोमा उल्लेख गरेको छ ।

विपद् प्रतिकार्य योजना अनुसार बाढी र पहिरोका हिसावले ताप्लेजुङका ६१ मध्ये ४४ वटा वडा उच्च जोखिममा रहेका छन् । २ वटा वडा न्यून जोखिममा मूल्याङ्कन हुँदा १५ वटा वडा मध्यम जोखिममा देखिएका छन् । आगलागीका हिसावले यहाँका ४६ वटा वडा जोखिमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सबैभन्दा बढी फुङलिङ नगरपालिकाका ११ मध्ये १,१० र ११ नम्बर वडा बाहेक सबै वडा आगलागीका हिसावले जोखिमपूर्ण देखिएका छन् । खडेरीका दृष्टीले ४० वटा वडा उच्च जोखिममा,१७ वटा वडा मध्यम जोखिममा र ४ वटा वडा न्यून जोखिममा रहेका छन् भने चट्याङका दृष्टीले ६१ वटा जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले विपद् प्रतिकार्य योजनामा उल्लेख गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts