भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ११ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई वडा–वडामा पुगेर भत्ता रकम वितरण गरेको छ भने ६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ सुब्बाका अनुसार साउन ६ गते आइतबारदेखि बिहीबारसम्म एकीकृत घुम्ती शिविर सञ्चालन भएको थियो । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा २ थेचम्बुबाहेक प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरिएको थियो । शिविरमार्फत सामाजिक सुरक्षा भत्ता पाउने ५३७ जना लाभग्राहीलाई भत्ता वितरण गरिएको निमित्त प्रशासकीय अधिकृत सुब्बाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ६० वर्षभन्दा माथि उमेर भएका २४६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । सबैभन्दा बढी वडा ३ तिरिङगेमा ६५ जना, त्यसपछि वडा ६ थुम्बेदिनमा ५७ जना र वडा १ नाङ्खोल्याङमा ५३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै वडा ४ डुम्रिसेमा ३१ जना र वडा ५ चाक्सिबोटेमा ४० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता रकम भने सबैभन्दा वडा ६ थुम्बेदिनमा १६१ जना लाभग्राहीलाई वितरण गरिएको छ । त्यसपछि वडा १ नाङ्खोल्याङमा १२८ जना, वडा ३ तिरिङगेमा ९७ जना, वडा ४ डम्रिसेमा ९१ जना र वडा ५ चाक्सिबोटेमा ६० जना लाभग्राहीलाई भत्ता रकम वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यर्की लगायतको उपस्थितिमा घुम्ती शिविर सञ्चालन गरिएको थियो ।