| |

फक्ताङ्लुङ गाउँपालिकाको प्रकोेप कोषमा साढे १५ लाख संकलन

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ५ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तीन साता अघि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा साढे पन्ध्र लाख रुपियाँ बढी रकम संकलन (जम्मा) भएको छ । विपतजन्य घटनाबाट पीडित भएका परिवारलाई सहयोग गर्ने उद्देश्यसहित गाउँपालिकाले स्थापना गरेको कोषमा छोटो समयमै उक्त रकम जम्मा भएको हो ।
बर्खायामको मनसुनजन्य घटनाबाट बर्षैपिच्छे प्रभावित हुने गरेका पालिकावासीलाई सहयोग गर्न गाउँपालिकाले गत असार दोस्रो साता प्रकोप व्यवस्थापन कोष स्थापना गरेको हो । कोषका लागि गाउँपालिकाले विनियोजन गरेको १४ लाख ६१ हजार ४२८ रुपियाँसहित कुल १५ लाख ४९ हजार ९७६ रुपियाँ कोषमा संकलन भएको छ । हालसम्म कोषमा संकलित रकममध्ये सात लाख २२ हजार ५२० रुपियाँ खर्च भइसकेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष लिम्बूका अनुसार विभिन्न राहत सामग्री खरिद गरी पीडित परिवारलाई वितरण गरिएको छ । बिहीबार राति मात्र भीषण वर्षासँगै गएको बाढीपहिरोले गाउँपालिका कार्यालय, गाउँपालिकाको सवारी साधन लगायतका संरचना र तापेथोक बस्ती नै जोखिम बनाएकाले कोषमार्फत सहयोगलाई निरन्तरता दिन सबैसँग अध्यक्ष लिम्बूले अपिल पनि गर्नुभएको छ ।
विकट तथा भिरालो भू-बनावटका कारण बर्खायाममा मनसुनजन्य घटनाले तुलनात्मक रुपमा फक्ताङ्लुङवासीलाई सताउने गरेको छ । भिरालो जमिन भएका कारण अधिकांस क्षेत्रमा पहिरो बग्ने साथै धेरै सङ्ख्यामा रहेको ठाडो खोला र गाउँपालिका भू-भागको बिचबाट बग्ने तमोर नदीले गर्ने कटान, डुबानजस्ता प्राकृतिक घटनाहरु बर्खायाममा अन्य पालिकाभन्दा यहाँ बढी हुने गर्दछ ।
यसवर्षको बर्खायाम सुरु भएपछि हालसम्म बाढीपहिरोका कारण चार जनाको ज्यान गइसकेको छ । त्यस्तै दर्जनौ परिवार विस्थापित भएका छन् भने सयौं परिवार बाढीपहिरोको जोखिम रहेका गाउँपालिकाले जनाएको छ । बाढीपहिरोमा परेर स्थानीयले पालेका थुप्रै पशुपन्छीसमेत मरेका छन् । खेतीबालीसहित अन्य भौतिक संरचनासमेत क्षतिग्रस्त बनेका छन् । गाउँपालिकाभित्रका अधिकांस सडकहरु अवरुद्ध बनेका छन् ।

Similar Posts