ताप्लेजुङ सहित देशभरका ४८ जिल्लामा युएसएआईडी प्रारम्भिक कक्षा सिकाई कार्यक्रम सुरु,५ बर्षमा ११ लाख बिद्यार्थी लाभान्वित हुने लक्ष्य

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १२ । ताप्लेजुङ सहित देशका ४८ वटा जिल्लामा सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थी केन्द्रित गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच विस्तार गर्न प्रारम्भिक कक्षा सिकाई कार्यक्रमको कार्यान्वयन सुरु भएको छ ।
युएसएआईडी प्रारम्भिक कक्षा सिकाई कार्यक्रमका कोशी प्रदेश संयोजक सन्तोष नेपालले प्रारम्भिक कक्षाहरुको पहुँच एवम् गुणस्तरीय शिक्षा सेवामा सुधार ल्याउन कार्यक्रम अघि बढेका जानकारी दिनुभयो । ४८ जिल्लाका ४ सय ८२ स्थानीय तहका १८ हजार २ सय बिद्यालयहरुमा कार्यक्रम अघि बढेको जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रममार्फत करिव ११ लाख बिद्यार्थी लाभान्वित हुने भएका छन् । योजनाको खोजी,कानुनी प्रकृया पूरा र सम्झौताको चरण समेत गरी सन् २०२३ को सेक्टेम्बर २८ बाट सन् २०२८ को सेक्टेम्बर २८ सम्म यो कार्यक्रम सञ्चालन हुने छ । कार्यक्रम अवधिमा कूल ३९.९८ मिलियन अमेरिकी डलर खर्च हुने छ । त्यसमध्ये सम्झौता अन्तरगतको अनुदान १० मिलियन डलर रहेको नेपालले बताउनुभयो ।
कोशी प्रदेशका ताप्लेजुङ,पाँचथर,धनकुटा,खोटाङ,भोजपुर,तेह्रथुम र उदयपुर गरी ७ जिल्लाका ५७ स्थानीय तहका २ हजार ५ सय ४९ बिद्यालयमा युएसएआईडी प्रारम्भिक कक्षा सिकाई कार्यक्रम सुरु भएको छ । यसअघि कार्यान्वयनमा रहेका इजीआरपी (पहिलो र दोस्रो चरण)को सिकाईलाई स्वामित्वको रुपमा ग्रहण गर्दै प्रारम्भिक कक्षाका विद्यार्थीको प्रभावकारी शिक्षण सिकाई केन्द्रित गुणस्तरीय शिक्षामा कार्यक्रमले जोड दिने नेपालले जानकारी दिनुभयो । इजीआरपी कार्यक्रम नभएका तेह्रथुम,उदयपुर र पाँचथर कोशी प्रदेशमा युएसएआईडी ईजिएलको नयाँ कार्यक्रम सुरु भएका जिल्ला हुन् ।
प्रारम्भिक कक्षाहरुमा पहुँच एवम् गुणस्तरीय शिक्षा सेवामा सुधार ल्याउन,स्थानीय स्तरमा समावेशी आधारभूत शिक्षा प्रदान गर्न,संघीय,प्रदेश र स्थानीय सरकारको सक्षमता बृद्धि गर्न कार्यक्रमले टेवा पु¥याउने युएसएआईडी ईजिएल कार्यक्रमको अपेक्षा छ । कार्यक्रम अन्तरगत क्षमता विकास र निरन्तर पेशा विकासका लागि समग्र शैक्षिक समस्याको पहिचान गरी समाधानका लागि सामूहिक प्रयास गर्न,असल अभ्यास र अनुभव साटासाट गर्न,नवीनतम् कार्य प्रकृयाको खोजी गर्न र सिकाईको संस्थागत भण्डारण गर्ने थलोको रुपमा जिल्ला तहमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा सिकाई समूह गठन र छलफल थालिएको समेत नेपालले बताउनुभयो ।
कार्यक्रममार्फत शैक्षिक मूल्याङ्कन तथा परीक्षणमा शैक्षिक परीक्षण केन्द्रलाई सहयोग तथा संस्थागत सक्षमतामा सुधार ल्याउने,अहिले कायम रहेको न्यूनतम् शैक्षिक मापदण्ड र प्रकृयालाई समयानुकूल परिमार्जन गर्ने योजना बनेको छ । यस्तै शिक्षा क्षेत्रको लैंगिक उत्तरदायी बजेट निर्देशिकालाइ पुनरावलोकन तथा अद्यावधिक गर्ने,प्राविधि सहयाता तथा अपाङ्गता उपप्रणाली समेतको व्यवस्थापनलाई सुद्रिढीकरण गर्ने,स्थानीय शिक्षकको सक्षमतामा सुधार ल्याउने र वालमैत्री सिकाईलाई प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन हुने भएका छन् ।
कार्यक्रम अवधिभरमा कार्यक्रम लागु भएका ४८ जिल्लाका करिव २ हजार ५ सय बिद्यालयलाई प्रति बिद्यालय ४ हजार अमेरिकी डलरका हिसावले सम्झौता आधारित अनुदान उपलब्ध गराईने भएको छ । तर बिद्यालय छनौटको आधार भने तय भई नसकेको र स्थानीय शैक्षिक सहयोग समितिसंगको परार्मशका आधारमा मापदण्ड तयार गर्ने योजना रहेको नेपालले बताउनुभयो ।‘तत्काल पाइलटिङ प्रोजेक्ट अघि बढ्ने छ,तर कार्यक्रम अवधिभरमा २ हजार ५ सय बिद्यालय अनुदान सहयोग कार्यक्रममा समेटिने छन्’उहाँले भन्नुभयो । यस्तो प्रकारको अनुदान छपाईयुक्त कक्षा कोठा(बिद्यालय पाठ्यसामग्री समेत),कक्षाकोठाको व्यवस्थापन र अन्य आवश्यकतामा आधारित योजनामा खर्च गर्न सकिने समेत युएसएआईडी ईजीएल कार्यक्रमले जनाएको छ ।